काठमाडौं : अर्थतन्त्रको तेस्रो खम्बा मानिएको सहकारी क्षेत्र यतिबेला चर्चामा छ । विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीले सहकारी पनि अछुतो रहेन । त्यतिमात्र नभएर सुशासनलाई मिचेर सञ्चालकको मनोमानी बढेपछि सहकारी संकट थप जटिल बन्दै गएको छ ।
आफ्नो बचत फिर्ता नपाएर बचतकर्ताहरु सडक आन्दोलनमा छन् भने सञ्चालकहरु जेलमा छन् । यतिबेला केही सिमित सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्रकै बदनाम भइरहेको छ ।
सहकारीको सिद्धान्त तथा प्राथमिकता समुदायमा केन्द्रीत नभई सहकारी संस्थाहरुले अनुत्पादन क्षेत्रमा लगानी गरेकैले अहिलेको स्थिति आएको हो । खासगरी बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुमा समस्या अझ बढ्दो छ ।
घरजग्गामा लगानी गर्ने, विनाधितो विना ज्ञारेन्टी जोखिमपूर्ण क्षेत्रमा लगानी गर्ने र सदस्य बाहिरका व्यक्तिहरुलाई विश्वासका आधारमा लगानी गर्ने परिपाटी सहकारीका खास समस्या हुन् । गरेको लगानी उठ्न नसक्दा कयौं सहकारीहरु अहिले समस्यामा छन् । जसले गर्दा बचतकर्ताले समेत बचत फर्ता पाउन सकिरहेका छैनन् ।
तर, ग्रामीण क्षेत्रमा परिस्थिति केही फरक छ । शहर केन्द्रीत सहकारी संस्थामा समस्या देखिराख्दा ग्रामिण भेगका केही संस्थाहरुको भने आर्थिक तथा सामाजिक स्थिति निकै अब्बल र सुध्रिढ देखिएका छन् । आर्थिक मन्दीको असर र बजारमा देखिएको सहकारीप्रतिको अफवाहको बाछिटा परे पनि ग्रामिण भेगका अधिकांश सहकारी सरल सहज ढंगले चलिरहेका छन् ।
समुदायमा केन्द्रीत रहेर सञ्चालन भएका ग्रामीण भेगका सहकारीहरु नागरिकहरुको जीवनस्तर उकास्ने माध्यम बनेका छन् । अझ भनौ केही यस्ता उदाहरणीय सहकारी संस्था जो बालबालिकादेखि वृद्धसम्मका लागि सहारा बनेका छन् । युवाहरुका लागि भरोसा बनेका छन् । किसानका लागि हातेमालो बनेका छन् । आर्थिक विकासका लागि दरिलो खम्बा बनेका छन् ।
जनसचेतन बचत तथा ऋण सहकारी संस्था
यसको गतिलो एक उदाहरण हो दोलखाको ‘जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ । पछिल्लो समय समग्र सहकारी क्षेत्र नै बदनाम बनिरहँदा दोलखाको जनसचेतन साकोसले भने आफ्नो वित्तीय स्थिति स्वस्थ राख्दै समुदायको आशा र भरोसाको केन्द्र बनेको छ । सहकारीले बालबालिकादेखि वृद्धसम्मका लागि विशेष सामाजिक सुरक्षाको प्याकेज प्रदान गरिरहेको छ । नियमित बचत, कर्जा लगानीसँगै सहकारीले सदस्यहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयाता समेत प्रदान गर्दै आएको छ ।
संस्थाले सदस्यहरुलाई सामाजिक सुरक्षाको प्रत्याभुति दिने उद्देश्यले ७५ वर्षभन्दा माथि उमेर भएका वृद्ध सदस्यहरुलाई मासिक ५०० रुपैयाँका दरले भत्ताको व्यवस्था गरेको छ । यसका साथै संस्थामा आवद्ध शेयर सदस्यहरु मध्येबाट ६५ वर्ष उमेर पुगी ७० वर्ष ननाघेका, सदस्यता लिएको ५ वर्ष पुरा भएका ६० जनालाई विभिन्न तिर्थ स्थलहरुको अवलोकन भ्रमण समेत गराउँदै आएको छ ।
‘प्रविधि मैत्री गुणस्तरीय सेवा, सदस्यहरुलाई टेवा’ भन्ने उद्देश्य बोकेको संस्थाले सदस्य सुरक्षा कोष, सामाजिक संस्कार खर्च, जनसचेतन आजीवन सहारा, मनिट्रान्फर, गरिबसँग जनसचेन, सदस्यहरुलाई शिक्षा तथा तालिम कार्यक्रम, गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृद्धि, विभिन्न विधाहरुमा सदस्य सम्मान तथा पुरस्कार कार्यक्रम, स्वास्थ्य उपचार सहयोग, प्राकृतिक प्रकोपमा सहयोग लघुवित्त कार्यक्रम, जेष्ठ सदस्यहरुलाई स्टिल लठ्ठी वितरण लगायतका सेवा तथा कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ ।
संस्थाको वित्तीय स्थिति
गत असार मसान्तसम्म संस्थाको शेयरपुँजी १६ करोड ६७ लाख २४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ करोड ५८ लाख ६८ हजार रुपैयाँ रहेको छ । त्यस्तै यस अवधिमा संस्थाको कुल लगानी एक अर्ब ८२ करोड २७ लाख ९८ हजार रुपैयाँ रहेको छ भने बाह्य ऋण १० करोड ५४ लाख ६९ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी संस्थाको कुल बचत निक्षेप एक अर्ब ६३ करोड ९ लाख ५३ हजार रुपैयाँ रहेको छ भने संस्थाको तरलता अनुपात १७.२१ प्रतिशत रहेको छ । यस अवधिमा संस्थाको भाका नाघेको ऋण २६ करोड ३ लाख ९१ हजार रुपैयाँ रहेको छ । त्यसैगरी संस्थाको कुल आम्दानी २६ करोड ७१ लाख रुपैयाँ रहेको छ भने २४ करोड ८५ लाख ५३ हजार रुपैयाँ खर्च रहेको छ ।
भुकम्पका कारण सदस्यहरुको आवासलाई प्राथमिकतामा राखेकाले धेरैजसो लगानी घरजग्गामा भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नवराज दाहालले बताए ।
यसका साथै कोरोना महामारीका कारण समग्र अर्थतन्त्रमा समस्या थपिएकाले निष्क्रिय कर्जा केहीमात्रामा बढेको उनको भनाई छ । उनका अनुसार सहकारीबाट लघुवित्तको क्षेत्रमा सात करोड रुपैयाँ लगानी भएको छ ।
हाल संस्थाका ऋण लगानीका क्षेत्र १४ वटा रहेका छन् । कृषिदेखि उच्च शिक्षा अध्ययनसम्म संस्थाले ऋण दिने गरेको छ । साथै उनले स्थानीय तहको सहयोग नमिल्दा ऋण असुलीमा समस्या रहेको बताए । संघीय सरकार आएसँगै स्थानीय तहको घरजग्गा कारोबारको मूल्यमा फेरबदल आएपछि ऋण लगानीमा जोखिम रहेको उनको भनाई छ ।
‘सदस्यहरुमा संस्था डुब्छकी भन्ने संसय छैन’
बजारमा समग्र सहकारी अभियान धराशायी बन्दै गएको हल्लाका बाबजुद पनि संस्थाप्रति सदस्यहरुको गुनासो नरहेको संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईले बताए । यद्यपि, विग्रदो परिस्थिति र बजार हल्लालाई ध्यानमा राख्दै संस्थाले पर्याप्त तरलता व्यवस्थापन गर्दै गएको उनले बताए । ‘हल्लाको बाछिटा त केही पर्ने नै भयो । तर, जनचेतन बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुमा संस्था डुब्छकी भन्ने संसय छैन । संस्थाको वृद्धिसँगै बचत पनि बढ्दै गएको छ । अझै दीर्घकालिन बचतमा जोड दिँदै छौं’ उनले भने ।
सहकारीको सिद्धान्त र मूल्य मान्यताअनुसार सहकारी सञ्चालन गरेको उनको दाबी छन् । ‘हामीले तेस्रो पक्षको धितो राखेर ऋण दिने गरेका छैनौं । भाखा नाघेका ऋणीहरुको ताकेता गर्ने, धितो लिलामी गर्ने र सदस्यको बचतको सुरक्षालाई विधिमा राखेर गरेका छौं । यसले लगानी जोखिमलाई न्यूनिकरण गर्न सहयोग गरेको छ’ उनले बताए ।
तर, सुशासनमा सहकारी चलेपनि बचतकर्ताको आंकाक्षा भने बढ्दै जाने उनको भनाई छ । भनेकै समयमा मागेजति र सस्तो ब्याजमा ऋण देओस् भन्ने आकांक्षा सदस्यहरुमा रहने गरेको उनले भनाइ छ । हल्लाको पछि लाग्ने र सदस्यहरुलाई सस्ता नारा दिने भन्दापनि संस्था टिकाउनेतर्फ आफूहरु लागेको उनले बताए ।
शहर केन्द्रीत भन्दा पनि दुर्गम क्षेत्रहरुमा सेवा विस्तारमा जोडतोडका साथ लागिपरेको उनले बताए । जनचेतन साकोस कुनै पनि बैंक तथा वित्तीय संस्थाको पहुँच नभएको ठाउँमा सेवाकेन्द्र स्थापना गरेर त्यहाँका नागरिकहरुलाई वित्तीय साक्षरता दिई आर्थिक रुपमा सबल बनाउन लागि परेको उनले दाबी गरे ।
सोही अवसरमा चौलागाईंले संस्थाप्रति सदस्यहरुको बुझाईका बारेमा सर्वेक्षण समेत गर्ने गरेको बताए । सहकारी अभियान र जनसचेतनलाई एक साथ अघि बढाएको उनको भनाई छ ।
बचत फिर्ताको समस्या छैन
अध्यक्ष चौँलागाईंले अन्य संस्थाहरुमा वित्तीय संकट आएपनि जनचेतनमा त्यस्तो कुनै समस्या नपरेको दाबी गर्छन् । ‘बचत फिर्ता लिन सदस्यहरु नआउन् । आएपनि सहज रुपमा बचत फिर्ता गर्न सकियोस् भनेर हामीले बचतको किसिम अनुसार तरलताको व्यवस्थापन गरेका छौं । यसले गर्दा हामीलाई अप्ठ्यारो परेको छैन’ चौलागाईंले भने, ‘लगानीबाट मात्रै नाफा हुन्छ भनेर गयौं र तरलता राखेनौं भने अप्ठ्यारोमा पर्ने हो । तर हामीसँग अहिले पनि २० प्रतिशत तरलता छ । भएको तरलता भन्दा बढी रकम फिर्ता गर्न आए भने हामी पनि समस्यामा पछौं । यस तर्फ ध्यान केन्द्रित गरेका छौं’ उनले थपे ।
उनका अनुसार संस्थाले शैक्षिक क्षेत्रमा धेरैले ऋण लगानी गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरुको संख्यासँगै कर्जा माग समेत हुने गरेकाले सो क्षेत्रमा समेत संस्थाले कर्जा लगानी गरेको छ ।
वैदेशिक रोजगारीमा जानेहरुका लागि ऋण दिन नहुने भएता पनि मिटरब्याजीसँग ऋण लिएर सदस्यहरु विदेशिने अवस्था नरहोस् भन्ने पवित्र उद्देश्यले सुलभ ऋण दिने गरेको उनले बताए । तर, संस्थाले सदस्यहरुलाई विदेशिन कुनैपनि मानेमा प्रोत्साहित नगरेको उनको दाबी छ ।
Advertisment