Below Menu
Below Menu

एक वर्षभित्र सक्नुपर्ने पुल सात वर्षसम्म अलपत्र

एक वर्षभित्र सक्नुपर्ने पुल सात वर्षसम्म अलपत्र

बेदकोट : कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल सात वर्षदेखि अलपत्र बनेको छ । करिब ७० मिटर लामो उक्त पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि अझै तयार हुनसकेको छैन ।

पुलका दुई स्पानमध्ये हालसम्म एउटा मात्रै निर्माण भएको छ । पैँतिसरपैँतिस मिटरका दुई स्पानसहितको पक्की पुल ओदाल खोलामा निर्माणका लागि विसं २०७३ भदौ १७ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।

पटक–पटक म्याद थप हुँदा पनि निर्माण कम्पनीको ढिलासुस्तीले काम अघि बढ्न नसकेको स्थानीय बताउँछन् । समयमा पुल निर्माण नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन् । पक्की पुल नहुँदा वर्षात्मा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सास्ती हुने गरेको स्थानीय घनश्याम साउदले बताए ।  “बर्खामा आउने खोलाले बिरामी तथा विद्यार्थीलाई ओहोरदोहार गर्न समस्या हुन्छ”, उनले भने, “पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता छ ।”

ठेकेदार कम्पनीको लापरबाहीले अहिलेसम्म पुल निर्माण हुन नसकेको स्थानीय दिलबहादुर खत्रीले बताउनुभयो । “सुविधासम्पन्न बाटो र पुल नहुँदा कोही बिरामी परे पनि लैजान समस्या हुने गरेको छ । एम्बुलेन्स आउन मान्दैनन्,” उनले भने, “समयमै अस्पताल पु¥याउन नसक्दा कतिपयले बाटोमै ज्यान जाने डर रहन्छ ।”

खोलामा पुल नहुँदा स्थानीय अहिले पनि कठिनाइपूर्ण बाटो प्रयोग गर्न बाध्य छन् । यथाशिघ्र पुल निर्माण भए सुन्दरीफाँटा, दोमिल्लालगायत क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् । “पुल बन्ने भनेको यत्रो समय बितिसक्दा पनि बनेको छैन”, स्थानीय गणेश रावतले भने, “यहाँका नागरिक सास्तीपूर्ण यात्रा गर्न बाध्य छन् । अब त निर्माण हुन्छ भन्ने आशा पनि छैन ।”

विसं २०७४ फागुन १५ गते सक्ने गरी विसं २०७३ भदौ १७ गते थेगिम गाल्वा जेभीले रु पाँच करोड ४७ लाखमा उक्त पुल निर्माणको ठेक्का पाएको थियो । 
पछिल्लो पटक म्याद थप गरेर विसं २०७८ चैत्र ३० गते काम सक्नुपर्ने भनिएकामा निर्माण अलपत्र बनेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले जानकारी दिए ।

“पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम अघि बढाएको छैन । उपकरण ल्याएर केही दिन काम गरेजस्तो देखाउने गरेको पाइएको छ”, उनले भने, “निर्माणमा लापरबाही र ढिलासुस्ती गर्ने कम्पनीलाई जरिवाना पनि तिराएका छौँ ।”

सिग्देलका अनुसार एक महिनाअघि निर्माण कम्पनी निर्माणस्थलमा परिचालन भए पनि सामग्रीको अभावले काममा ढिलाइ भएको बताउँदै आएको छ ।

Advertisment

थप समाचार