Below Menu
Below Menu

सेयर बजारलाई व्यवस्थित र घरजग्गालाई चलायमान बनाउँछु: नवनियुक्त अर्थमन्त्री पुन

सेयर बजारलाई व्यवस्थित र घरजग्गालाई चलायमान बनाउँछु: नवनियुक्त अर्थमन्त्री पुन

काठमाडौं : नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजारलाई व्यवस्थित बनाउने र स्थिरता दिने विषयलाई आफूले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

अर्थमन्त्रीको पदभार ग्रहण गरेका पुनले आफूले सेयर बजारलाई प्राथमिकतामा राखेर व्यवस्थित गर्ने र सुस्त बनेको घरजग्गा क्षेत्रलाई चलायमान बनाउने गरी नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘सेयर बजारमा ६० लाख बढी लगानीकर्ताको विषय जोडिएको छ । यसलाई मैले हेर्नु नै पर्नेछ’, उनले भने, ‘घरजग्गा क्षेत्र सुस्त छ । यसलाई चलायमान गरेर अगाडि बढ्नुपर्नेछ ।’ उनले अर्थतन्त्रमा ठूला समस्याहरु नरहेका, बरु मनोबल उठाउनुपर्ने आवश्यकता बढी रहेको भन्दै आफू त्यसमै केन्द्रीत हुने पनि घोषणा गरे ।

सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रश्नोत्तर तथा मन्त्रालयका कर्मचारीहरुलाई सम्बोधनका क्रममा नवनियुक्त अर्थमन्त्री पुनले सरकारको पूँजीगत खर्च बढाउनुपर्ने, राजश्व संकलन बढाउनुपर्ने, अन्तर मन्त्रालय समन्वयलाई व्यवस्थित गर्नुपर्ने लगायत अर्थतन्त्रका कैयन चुनौतिहरु रहेका उल्लेख गर्दै ती सबै समाधान गर्न आफू सक्षम हुने दाबी समेत गरे ।

उनले घट्दो राजश्व संकलनमा तत्कालै सुधार गर्ने गरी काम गर्ने र अर्को महिनापछि नै सुधारको अनुभूत हुने समेत ठोकुवा गरेका छन् । उनले राजश्व चुहावट कहाँ कहाँ छ भन्ने कुरामा आफू जानकार रहेकोले यसमा सुधार गर्न समस्या नरहेको दाबी गरे ।

उनले आफूले समयमै सम्बन्धित क्षेत्रका विज्ञहरुको सहयोग र सुझाव तथा मनोबल गिरेको अवस्थामा रहेको निजी क्षेत्रको समेत साथ लिएर अगाडि बढ्ने वचन समेत दिए ।

उनले अर्थतन्त्रको वर्तमान समस्याहरुको विषयमा आफूलाई राम्रोसँग जानकारी रहेको उल्लेख गर्दै समाधानका लागि उपायहरु समेत रहेको जिकिर गरेका छन् । लघुवित्त र सहकारीमा देखिएको समस्या पनि ठूलो नभएको र यसको निकै चाँडो समाधान गरिने समेत दाबी पेश गरे ।

उनले पछिल्लो समय वित्तीय क्षेत्रको मनोबल समेत गिरेको उल्लेख गर्दै यो क्षेत्रमा समेत उत्साह ल्याउने गरी काम र समन्वय गरिने बताए ।

Advertisment

थप समाचार