काठमाडौं : फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प बिकास केन्द्रको सह–आयोजनामा २५ औं फ्लोरा एक्स्पो हुने भएको छ । सोमबार पत्रकार सम्मलेन गर्दै काठमाडौंको भृकुटिमण्डप प्रदर्शनी हल एक्पोको आयोजना गर्न लागिएको एक्पोका संयोजक सिताराम पन्तले जानकारी दिए ।
‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका चार दिनसम्म चल्ने उक्त एक्पोको उद्घाटन कृषि तथा पशुपन्छी बिकास मन्त्रीले गर्नेछन् ।
उक्त २५ औं फ्लोरा एक्स्पोमा व्यवसायिक स्टल ६० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ वटा, र १ वटा फूड स्टलसहित ७३ वटा स्टल रहनेछन् ।
यस बर्ष आयोजना हुने २५ औं फ्लोरा एक्स्पो अबधि भित्र ५० हजार अवलोकन कर्ताद्वारा अवलोकन हुने तथा करिब एक करोड सम्मको व्यवसायिक कारोबार हुने आयोजनकले जनाएको छ ।
मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपुर्तिकर्ता कम्पनीहरु, व्यवसायीहरु तथा बिभिन्न संघ संस्थाहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
यसका साथै मेलामा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलंकारीक बोट बिरुवाहरु, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, थोपा सिचाई प्रबिधी, आधुनिक पुष्प खेती प्रबिधी, जैबिक विषादी, पुष्प सजावटका प्रदर्शनी तथा विक्री कक्ष रहनेछन् ।
मेलामा पुष्प उद्यमी÷व्यवसायी÷कम्पनीहरुको लागि आफुले उत्पादन गरेको पुष्प तथा पुष्पजन्य बस्तुको राष्ट्रिय स्तरमा प्रचार–प्रसार गरी बजार बिस्तार गर्न, आफ्नो उत्पादन बिक्री वितरण गर्न, पुष्प व्यवसायी तथा पुष्प उपभोक्ताहरु बीच प्रत्यक्ष सम्पर्क तथा समन्वय गर्न, बिश्व बजारमा बिकास भएका पुष्पको नयाँ नयाँ उत्पादनहरुलाई सार्वजनिक गर्न र ग्राहक उपभोक्ताहरुसंग आपसी सम्बन्ध स्थापना गर्न अवसर मिल्ने छ ।
पुष्पको क्षेत्रमा विकास भएको तथा प्रयोगमा आएको नबिनतम प्रबिधिबारे प्रचार प्रसार गर्न सघाउ पुग्नुका साथै पुष्प व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञासु एवं अध्ययन अध्यापनका लागि उक्त मेला बृहत् साझा मञ्च आयोजकले विश्वास छ ।
एशोसिएसनले क्षेत्रीय तथा राष्ट्रिय स्तरको पुष्प मेला÷प्रदर्शनी गर्दै आएको छ । यस बर्ष पनि मेलामा सहभागी भएका बिभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरुको बिभिन्न बिधाहरुमा (उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिङ्ग, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) स्वच्छ प्रतिस्पर्धा गराईने छ ।
प्रतिस्पर्धामा प्रथम तथा उत्कृष्ट हुने पुष्प व्यवसायीलाई मेला समुदघाटन समारोहको अवसरमा नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत समेत गरिने जनाइएको छ ।
यसका साथै लामो समयदेखि निरन्तर रुपमा पुष्प व्यवसाय गरिरहेको नर्सरी व्यवसायीहरुमध्ये एक जनालाई छनौट गरि मेला समुदघाटन कै अवसरमा उक्त नर्सरी लाई कदर–पत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको छ ।
।
Advertisment