काठमाडौं : सहकारी संस्था दीगोपनाको आधार संस्थागत पुँजी र नियमित बचतको बलियो हिस्सा हो । दीगो संस्था हुनका लागि सहकारी संस्थामा नियमित बचतको हिस्सा कम्तिमा ३० प्रतिशत अनिवार्य छ । दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको नियमित बचत ६५.७५ प्रतिशत छ ।
संस्थासँग ऐच्छिक बचत ८.६९ प्रतिशत र आवधिक बचत २५.५६ प्रतिशत रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिए । संस्थाले आवधिक बचतलाई घटाउँदै लगेको छ भने नियमित र ऐच्छिक बचतको हिस्सा बढाउँदै लगेको छ ।
संस्थाको सेयर पुँजी ७ करोड ७५ लाख ७४ हजार १ सय रुपैयाँ, जगेडा कोष ८ करोड ९६ लााख ५८ हजार ८ सय ७६ रुपैयाँ (करिब ७ प्रतिशत) र विभिन्न कोष ६ करोड ८९ लाख ४३ हजार ६ सय १३ रुपैयाँ रहेको छ । यो नै मिलिजुली कालिञ्चोक साकोसको सुखद् र संस्था दीगो पनाको प्रमुख आधार हो ।
संस्थासँग कुल बचत ९४ करोड ७१ लाख ६८ हजार ८ सय ५ रुपैयाँ, लगानीमा रहेको ऋण ९८ करोड २९ लाख ६७ हजार ३ सय ३८ र तरलता रकम १२ करोड ४ लाख ८२ हजार ६ सय ९५ रुपैयाँ रहेको छ । संस्थाको कुद सम्पत्ती १ अर्ब ३० करोड ७२ लाख ११ हजार ७ सय ४४ रुपैयाँ रहेको छ । संस्थासँग २ हजार ६ सय ६६ जना सदस्यले ऋणको कारोबार गरेको सिईओ न्यौपानले बताए । ऋणको अधिकतम ब्याजदर १३.७५ प्रतिशत रहेको छ । स्प्रेड दर ५.८० प्रतिशत रहेको छ ।
चरिकोटमा मुख्य कार्यालय रहेको संस्थाले काठमाडौंमा १, सिन्धुपाल्चोकमा १ र दोलखामा ९ वटा सेवा केन्द्रबाट वित्तीय तथा गैर वित्तीय सेवा प्रवाह गरिरहेको छ ।
प्रविधिमार्फत गाउँ गाउँमा सेवा
समयको परिवर्तन सँगै वित्तीय क्षेत्रमा प्रविधिको विकास तीब्र गतिमा भइरहेको छ । विश्वमा डिजिटल करेन्सीको अवधारणा विकास भइसकेको छ । मित्र राष्ट्र भारतमा भर्चुअल बैंकिङ्गको अवधारणा विकास भई प्रयोगमा आइसकेको छ । यस्तो अवस्थामा संस्थाले पनि प्रविधिलाई आत्मसाथ गर्दै सेवा प्रवाह गरिरहेको छ । पछिल्लो समय डिजिटल कारोबारको मात्रामा वृद्धि हुँदै गएको संस्थाले जनाएको छ । संस्थाको रणनीतिक योजनामा समेत प्रविधिलाई उच्च प्राथमिकतामा राखेको छ ।
अन्य वित्तीय संस्थाको पहुँच नभएको स्थानमा समेत संस्थाले सेवा केन्द्र स्थापना गरी सेवा दिइरहेको छ । विद्युतको बिल तिर्नको लागि सयौं रूपैयाँ खर्च गरेर वा दिनभरि पैदल हिड्नु पर्ने अवस्थालाई संस्थाले सेवा प्रदान गरेको छ । यस्तो सुविधाले सुविधाले अति विकट क्षेत्रका बासिन्दाहरूमा खुसी छाएको छ ।
संस्थाले शेयर सदस्यहरुलाई प्रतिस्पर्धी एवं आधुनिक वित्तीय सेवा दिनका लागि बित्तीय क्षेत्रमा भित्रिएको पछिल्लो डिजिटल प्रविधिलाई समेत अपनाएको छ । यसका लागि संस्थाले शेयर सदस्यहरुलाई एटीएम सेवाका साथै मोबाईल बैंकिङ्ग मार्फत विद्युतीय कारोबार सेवा उपलब्ध गराएको छ । संस्थाका शेयर सदस्यहले एससीटी र युनियन पे को सञ्जालभित्र भएको जुनसुकै एटीएम मेसिनबाट रकम निकाल्न सक्ने संस्थाले जनाएको छ ।
यसैगरी संस्थाले मोबाईल बैंकिङ्ग मार्फत शेयर सदस्यहरुलाई खल्तीमा भएको मोबाईलबाटै आफ्नो खातामा भएको रकमको विवरण बुझ्न सक्ने, संस्थाको अर्को शेयर सदस्यको खातामा रकम सार्न मिल्ने, बैंकमा भएको खातामा पैसा पठाउन वा बैंकमा भएको खाताबाट सहकारीको खातामा पैसा सार्न मिल्ने र घरमै बसेर ऋणको किस्ता तथा व्याज भुक्तानि गर्न मिल्ने सेवा उपलब्ध गराएको छ ।
यस्तै मोबाईल बैंकिङ्ग मार्फत ईन्टरनेट, विद्युत, टेलिफोन, खानेपानी, केवल च्यानल आदि सेवाको महसुल भुक्तानि गर्नुका साथै मोबाईलको ब्यालेन्स रिचार्ज, प्लेन टिकट खरिद, बीमाको रकम भुक्तानी लगायतका सेवा समेत सदस्यले लिन सक्ने ब्यवस्था रहेको छ । साथै यो सेवा मार्फत विप्रेषण सेवा उपयोग गर्न र संस्थालाई आवश्यक सल्लाह सुझाव समेत दिन सकिने संस्थाले जनाएको छ । विभिन्न प्रतिवेदनहरू सञ्चालक समितिलाई इमेलमार्फत पठाउने र सोही माध्यमबाट प्रतिउत्तर दिने व्यवस्था गरेको छ ।
प्राथमिकतामा सामाजिक सुरक्षा
संस्थाले वित्तीय सेवाको अलवा सदस्यहरुको सामाजिक सुरक्षालाई पनि उच्च प्राथमिकता दिएको छ । संस्थाले सामाजिक सुरक्षा अन्तर्गत ७० वर्ष माथिका ज्येष्ठ सदस्यलाई वार्षिक २ हजार ४ सय रुपैयाँका दरले भत्ता प्रदान गर्दै आएको छ । यो सेवाबाट परिवारका अन्य सदस्यमा आश्रित भएर बसेका ज्येष्ठ नागरिकहरुलाई थोरै भएपनि आफ्नो व्यक्तिगत आवश्यकता पूरा गर्न खर्चको जोहो भएको छ ।
त्यसैगरी संस्थाले आफ्ना महिला शेयर सदस्य सुत्केरी हुँदा दुई सन्तान सम्मका लागि सुत्केरी सहयोग कार्यक्रम अन्तर्गत १ हजार रुपैयाँ सुत्केरी भत्ता उपलब्ध गराउने गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९÷८० मा यो कार्यक्रम मार्फत ९९ जना शेयर सदस्यलाई ९९ हजार रुपैयाँ सुत्केरी भत्ता प्रदान गरेको जनाएको छ ।
संस्थामा आवद्ध भएको तीन वर्ष पुरा भएका शेयर सदस्यका छोराछोरीहरु मध्ये संस्थामा बाल बचत गरेको दुई वर्ष पुरा भएका विद्यार्थीलाई छात्रवृत्तिको ब्यवस्था गरेको छ । कक्षा १ देखि १० सम्म अध्ययर विद्यार्थीहरु मध्ये आय स्तर कमजोर भएका र जेहन्दार एक जना छात्र र एक जना छात्रा गरी दुई जना विद्यार्थीलाई वार्षिकरुपमा ३ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
संस्थाले आफ्ना पुरुष शेयर सदस्यको बाबु, आमा, श्रीमती र स्वयमको मृत्यु हुँदा वा महिला शेयर सदस्यको सासु, ससुरा, श्रीमान र स्वयमको मृत्यु भएको अवस्थामा सम्बन्धित व्यक्तिका हकवालालाई राहत दिनका लागि राहत कोष खडा गरको छ । संस्थाले गत आर्थिक वर्ष यो कोषबाट सोकसन्तप्त परिवारलाई १७ लाख ४३ रुपैयाँ राहत वितरण गरेको जनाएको छ ।
सदस्यलाई अध्ययनशिल बनाउन पुस्तकालय
शिक्षा कोकोबाट सुरू भई चितामा पुगेपछि अन्त्य हुन्छ भन्ने भावका साथ संस्थाले सदस्यलाई अध्ययनशिल बनाउन पुस्तकालय स्थापना गरेको छ । संस्थाको नवनिर्मित भवनमा पुस्तकालयको छुट्टै व्यवस्था गरिएको छ । संस्थाका सदस्य तथा बाल बचतकर्ताहरू आई संस्थाको कार्यविधि बमोजिम अध्ययन गर्न सक्ने जनाएको छ । निकट भविष्यमा शेयर सदस्यहरूले डिजिटल रूपमा अध्ययन गर्न मिल्ने विद्युतिय पुस्तकालयको समेत संस्थाले सोच विकास गरेको छ ।
नेतृत्व पूर्व अनिवार्य तालिम
संस्थाले भावी नेतृत्वलाई विनियममा नै अनिवार्य तालिम लिनुपर्ने प्रावधान बनाएको छ । सोही अनुसार संस्थाले २०७४ सालदेखि भावी नेतृत्वलाई तालिम प्रदान गर्दै आएको छ । यो अभ्यास नेपालमै पहिलो हो । विनियममा भएको व्यवस्था बमोजिम सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको जुनसुकै पदमा उम्मेद्वार हुनको लागि भावी नेतृत्वको क्षमता अभिवृद्धि तालिम लिनुपर्ने व्यवस्था गरेको छ । तालिम लिन इच्छुक शेयर सदस्यहरूको लागि संस्थाले वार्षिक रूपमा आवेदन माग गर्दछ । प्रत्येक दुई वर्षमा संस्थाले यस्तो तालिम सञ्चालन गर्दै आएको छ ।
ऋण लगानी गर्नुपूर्व अनिवार्य ऋण व्यवस्थापन तालिम
संस्थाले सहकारी सम्बन्धित विभिन्न ऐन, नियमको परिधि भित्र रही सदस्यहरूलाई सहज र सुलभ तरिकाबाट ऋण लगानी प्रणाली अपनाइएको छ । सदस्यको ऋण माग फारामको दर्ता नम्बरको आधारमा ऋण सेवा उपलब्ध गराउँदै आएको छ ।
सदस्यहरूलाई ऋण प्रदान गर्नु पूर्व ऋण व्यवस्थापन र वित्तीय साक्षरता तालिम अनिवार्य सञ्चालन गर्ने गर्दछ । तालिमबाट शेयर सदस्यहरूलाई राहात पुगेको छ भने संस्थाको ऋण भाखा नाघ्ने चाप कम भएको छ ।
संस्थाबाट सदस्यलाई ऋण लगानी गर्दा पाँच लाख भन्दा बढीको ऋणमा राखिने धितोको मुल्यांकन इन्जिनियरबाट गर्नुपर्ने र मालपोत कार्यालयमा दृष्टिबन्धक पारित गर्नुपर्ने व्यवस्था गरिएको छ । पाँच लाख भन्दा कमको ऋण माग गर्ने सदस्यहरूको धितो राख्ने अचल सम्पत्ति मुल्यांकन संस्थाबाट गर्ने गरिएको छ छ । मालपोत कार्यालयमा ठाडो रोक्का गरेपछि मात्रै संस्थाले ऋण लगानी गर्ने गर्दछ ।
संस्थाले आफ्ना सदस्यहरूलाई सानो ऋण सहज बनाउनको लागि संस्थाको ऋण नीति अनुसार योग्यता पुगेका सदस्यहरूले एक लाख रूपैयाँसम्मको ऋण माग गरेकै दिन लगानी गर्ने व्यवस्था गरेको छ । संस्थाले नियमित बचतको ५ गुणासम्म मात्र ऋण लगानी गर्ने गरेको छ । २५ हजार रूपैयाँसम्म ऋण लिनको लागि ५ गुणाको आवश्यकता नपर्ने व्यवस्था संस्थाले गरेको छ ।
सुशासनमा अब्बल
सुशासनमा सञ्चालन गर्नको लागि सञ्चालक समिति तथा कर्मचारीहरूको आचारसंहिता निर्माण गरी संस्थाले लागु गरेको छ । संस्थामा प्रभावकारी सुशासन कायम राख्नको लागि मानव संशाधनको स्वमुल्यांकन, सामुहिक मुल्यांकन, पियर मुल्यांकन गर्ने व्यवस्था समेत मिलाएको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।
कार्यालय सफा सुग्घर राख्नको लागि ५ एस कार्यविधिलाई प्रभावकारी कार्यान्वयनमा ल्याएको उनले बताए । अकुले प्रभावकारी सुशासन छ वा छैन भनी परिक्षण गर्नको लागि विकास गरेको कुलेग अन्तर्गतका १२० वटा सुचकांकहरू गत आर्थिक वर्षबाट लागु गरेको छ । सोही आधारमा संस्थामा भएको सुशासनको मात्रालाई मापन गरी सुधार गर्नुपर्ने क्षेत्रलाई सुधार गर्दै अगाडि बढेको संस्थाले जनाएको छ । सम्पत्ति शुद्धिकरण कार्यविधि पुनर्लेखन गरी संस्थाले लागु गरेको छ ।
उत्पादन बजारीकरण गर्न प्रर्दशनी कक्ष
संस्थाले सदस्यहरुको उत्पादनलाई बजारीकरण गर्न प्रदर्शनी कक्षको स्थापना गरेको छ । संस्थाको मुख्य कार्यालयमा सदस्यहरुले उत्पादन गरेको कृषि तथा गैर कृषि बस्तुहरुको बजारीकरण गर्न कार्यालय भवनमा छुट्टै प्रदर्शनी स्थलको ब्यवस्था गरेको हो ।
सदस्यहरुले उत्पादन गरेका मध्ये लामो समय सम्म भण्डारण गर्दा नबिग्रने बस्तुहरु प्रत्यक्ष प्रदशर्नी कक्षमा राख्नुका साथै भण्डारण आयु छोटो भएका बस्तुहरुको भने तस्बिरमात्र प्रदशर्नीमा राखेको छ । चाँडो बिग्रने बस्तुहरु किन्न चाहने ग्राहकहरुलाई संस्थाले सिधै विक्रेता तथा उत्पाकहरुसँग सम्पर्क गराउने ब्यवस्था मिलाएको छ ।
मुलुकका विभिन्न स्थानबाट संस्थाको अध्ययन अवलोकन भ्रमणमा आउने पाहुनाहरुलाई समेत प्रदर्शनीमा राखेका उत्पादन देखाएर आफ्ना शेयर सदस्यहरुको उत्पादनलाई बजारीकरण गर्न प्रयास गर्दै आएको संस्थाले जनाएको छ ।
Advertisment