Below Menu
Below Menu

स्वदेशमै केही गर्नुपर्छ भन्ने हेमाको हुटहुटीले जन्मिएको ‘ओमकारा’   

स्वदेशमै केही गर्नुपर्छ भन्ने हेमाको हुटहुटीले जन्मिएको ‘ओमकारा’   

काठमाडौं : आधा दशक यता ललितपुर पाटनकी हेमा श्रेष्ठको दैनिकी फेरिएको छ । लामो समय जागिरे दैनिकी गरेकी हेमा पछिल्लो समय भने व्यवसायमा लागेकी छिन् । 

आधा दशक अघिसम्म उनी निर्यात कम्पनीमा काम गर्थिन् । राम्रो तलब पाए पनि उनी त्यहाँको कामबाट भने सन्तुष्ट थिइनन् । व्यवसायको क्षेत्रमा नेपालमै केही गर्नु पर्छ भन्ने उनमा हुटहुटी रहिरहन्थ्यो ।   

‘नेपालमै व्यवसाय गर्नु पर्छ, त्यो पनि आफ्नै ब्राण्ड बनाएर भन्ने हुटहुटी भइरहन्थ्यो । देशमै केहीलाई रोजगारी दिनुपर्छ भन्ने लाग्थ्यो । पैसाका लागि भन्दा पनि नेपालमै केही गर्नुपर्छ भन्ने मान्यता लिएर स्वदेशमै व्यवसाय गर्ने सोचे’, उनले सुनाइन् ।

अनि हेमाले छाडिन् जागिर र दर्ता गरिन्, नेपाली ब्राण्डको कपडा उद्योग । नाम राखिन् ‘ओमकारा’ । उक्त उद्योगमा सुरुवातमा उनले ६० हजार रुपैयाँ लगानी गरिन् । 

व्यवसाय शुरु गर्दा उनी एक्लै थिइन । एक्लैले संघर्ष गरे पनि उनको व्यवसाय भने राम्रो फस्टायो । अहिले भने उनको यस व्यवसायमा उनका श्रीमानले समेत साथ दिएका छन् । त्यसबाहेक उनले उद्योगमा १५ जनालाई रोजगारी दिएकी छिन् ।

‘व्यवसाय शुरु गर्दा एक्लै थिए । अहिले श्रीमान्को पनि साथ छ । उहाँले पसल हेर्नुहुन्छ । मैले मार्केटिङमा हेर्छु’, उनले भनिन् ।  
निर्यात कम्पनीमा काम गर्ने भएकोले उनलाई विदेश जाने अफर पनि आउने गर्दथ्यो । तर, उनी तीन अफरहरू वास्ता नगरी नेपालमै केही गर्नुपर्छ भनेर लागि परिन् ।

‘मैले काम गरेको एक्पोर्ट हाउस हो । विदेशीहरूसँग गरेको डिल र मैले गरेको काम देखेर बेलायत अमेरिका लगायतका देशहरूमा पनि जानका लागि अफर आएको थियो । तर, नेपालमै केही गर्नुपर्छ भनेर लागिपरे’, उनले भनिन् ।

उनको नेपाली ब्राण्ड ओमकारामा विभिन्न खालका कपडादेखि झोला, टोपीहरू उत्पादन तथा बिक्री वितरण हुन्छ । त्यसबाहेक उनले महिलाहरूले बुनेका हस्तकलाका अन्य सामानहरू पनि बिक्री वितरण गर्दै आएकी छिन् ।

उनी फेसन डिजाइनर पनि हुन् । आफू फेसन डिजाइनर भएकाले क्षेत्रलाई प्राथमिकतामा राखेको उनी बताउँछिन् । तर, उनी फेसन डिजाइनरको काम छोडेर आफ्नै उद्योगमा रमाइरहेकी छिन् । 

नेपाली उत्पादनलाई प्रोत्साहन र प्रवर्द्धन गर्नुपर्ने उनको मान्यता रहेको छ । स्वदेशी उत्पादनलाई बजारमा मान्छेहरूले बल्ल चिन्न थालेको उनी बताउँछिन् । नेपाल उत्पादनलाई खासै महत्त्व नदिने ग्राहकहरू पछिल्लो समय केही मात्रामा रुची देखाउन थालेको बताउँछिन् । नेपाली उत्पादन र महिला उद्यमी व्यवसायीहरूलाई सहयोग र प्रवर्द्धन गर्नुपर्ने उनको धारणा छ ।

चीन हङकङ लगायतका देशहरूमा उत्पादित सामानहरूलाई बजारमा प्राथमिकतामा राख्ने गरेको उनको भनाई छ । उनको उद्योगमा विशेष गरी आन्तरिक उपभोक्ताहरूका लागि उत्पादित सामानहरू प्राथमिकतामा रहेको छ भने अन्य देशहरूमा पनि निर्यात हुने गरेको छ ।

अमेरिकासम्म निर्यात

विशेषगरी युरोप र अमेरिका लगायतका देशहरूमा उनले सामानहरू निर्यात गर्ने गरेकी छिन् । एक वर्षअघिदेखि उनले अनलाइन मार्फत ‘ओमकारा’ एक्पोर्टमार्फत पनि सामानहरू बिक्री गर्दै आएकी छिन् । 

उनी भन्छिन्, ‘ग्राहकहरूले उतैबाट डिजाइन गरेर अर्डर गर्नुहुन्छ । यहाँबाट फिनसिङ गरेर पठाउँछौंं । स्थानीय उपभोक्ताहरूका लागि न्यूनतम ६ सय रुपैयाँ पर्छ भने बाँकी गार्मेन्टको गुणस्तर अनुसार मूल्य बढाउने गरेका छौँ ।’  

महिला र पुरुष सबैका लागि गार्मेन्टका सामानहरू उत्पादन गर्ने गरेको उनले बताइन् । तर, अझै पनि मान्छेहरूले नेपाली उत्पादन भनेर नाक खुम्च्याउने गरेको उनी सुनाउँछिन् ।

‘हामीहरू अझै पनि संघर्षको अवस्थामा छौँ । नेपाली उत्पादन भन्ने बित्तिकै मान्छेहरू हात लगाउँदैनन् । नेपाली उत्पादन भन्ने बित्तिकै गुणस्तर छैन भन्ने उनीहरूको मान्यता छ’, उनले सुनाइन् ।  

उनका अनुसार नेपालमा ५० प्रतिशत मानिसहरू स्वदेशी उत्पादनलाई मन पराउँछन् भने अझै पनि ५० प्रतिशत मानिहरु विदेशी सामानहरू नै मन पराउँछन् । 

आफ्नो उद्योगमा गुणस्तरलाई बढी प्राथमिकता दिने गरेको उनको भनाइ छ ।  ‘हामी गुणस्तरलाई बढी प्राथमिकता दिन्छौँ । नेपाली उत्पादन सस्तो हुनुपर्छ भन्ने ग्राहकको मान्यता छ । तर, मूल्यमा भन्दा गुणस्तरमा ध्यान दिइरहेका छौँ ।’, उनले भनिन् ।  

जागिर छाडेर व्यवसायमा आएकी उनी व्यवसाय गर्न धेरै रिक्स रहेको बताउँछिन् । महिला उद्यमी बन्दा धेरै गाह्रो हुने उनको अनुभव छ । ‘जागिर खाँदा महिनै पिच्छे तलब आइरहेको थियो । जागिर जीवनभन्दा व्यवसाय धेरै नै जोखिम हो । तर, मैले जोखिम नै मोल्न रोजेको हो’, उनले सुनाइन् । 

नेपालमा महिलाहरूलाई सफल उद्यमीको ट्याग लिन धेरै चुनौती रहेको उनको अनुभव छ । महिला हुने बित्तिकै मान्छेहरूको सोचाई र हेराइमा नै फरक पर्ने गरेको उनको अनुभव छ । शिक्षण पेसा लगायत क्षेत्रमा महिलाहरूको सहभागिता धेरै रहेपनि व्यवसायहरूमा महिलाहरू कम हुने गरेका छन् । 

महिलाहरूलाई रोजगारी दिनुपर्छ भन्ने मान्यताका साथ यो क्षेत्रमा अग्रसर भएको उनको भनाई छ । उनले नेपाली उत्पादनलाई बजारमा चिनाउन अनलाइनबाट पनि कारोबार गर्दै आएकी छिन् । नेपाली उत्पादनलाई चिनाउनका लागि पनि उनले विभिन्न एक्पोहरु स्टल राख्ने गरेको छिन् । 

आर्थिक मन्दीका कारण विश्व अर्थतन्त्र नै प्रताडित बनेको छ । मन्दीका कारण कतिपयको व्यवसाय डुबेको छ । समस्यामा रहेका व्यवसायीहरूको माग सरकारले सम्बोधन गर्नु पर्ने उनको तर्क छ । ‘मन्दीका कारण व्यवसायीहरू समस्यामा छन् । त्यस्ता व्यवसायीहरूलाई सरकारले हेर्नु पर्छ । स्वदेशी उत्पादनहरूको प्रवर्द्धन र बजारीकरण गर्न सरकारबाट धेरै अपेक्षा गरेका छौँ’, उनले भनिन् । 

बेला बेलामा हुने प्रदर्शनीहरूले व्यवसायमा केही राहत मिलेको उनले सुनाइन् ।सरकारले यस्ता प्रदर्शनीहरू निःशुल्क गरिदिनु पर्ने उनको भनाइ छ ।   

Advertisment