काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा अर्थविद् डा. स्वर्णिम वाग्ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जोखिम मोलेरै साथ दिएको बताएका छन् ।
बुधवार प्रधानमन्त्रीले संसदमा राखेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘ब्याज खाएर, कुर्सी ओगटेर होइन काम गरेर राष्ट्र हितका सवालमा प्रधानमन्त्रीको आफ्नो लेगेसीलाई दरिलो बनाउने चाहना, फराकिलो बनाउने प्रयासमा राष्ट्रिय स्वतन्त्र पार्टीले जोखिम मोलेरै साथ दिएको छ ।’
यसका साथै उनले सामाजिक विषयका क्षेत्रमा केही गरिए जस्तै आर्थिक उन्नयनका क्षेत्रमा पनि केही गर्न सकिन्छ भन्ने प्रधानमन्त्रीको चासो जाहेज लागेको बताए । वाग्लेले सशस्त्र द्वन्द्वको विधिप्रति विमति रहेको भन्दै तर देशका सीमान्तकृत समुदायको राजनीतिक जागरण, सचेतना, सशक्तीकरण, समावेशी समाजको जग निर्माणमामा वर्तमान प्रधानमन्त्रीलाई समाजले सम्झने बताए ।
‘तीन महिना अघि एक हप्ताअघि पनि उहाँको कुुर्सी हल्लिएको थिएन । त्यसकारण यो बेइमानी र अस्थिरता भन्ने भाष्य भन्दा माथि उठेर हामीले उहाँको बेचैनीको जरैसम्म पुग्न खोज्यौं भने हामीले उहाँलाई न्याय गर्ने छौं’, उनले भने ।
नयाँ पार्टी सरकारमा नगएर चोखो बसेको भएपनि हुन्थ्यो । पुराना दलसँग नटाँसिएको भएपनि हुन्थ्यो । एकैचोटी २०८४ मा बहुमत ल्याएर शासन चलाएको भएपनि हुन्थ्यो भन्ने जनमत पार्टीभित्र र बाहिर छँदैछ, उनको भनाई छ ।
उनी भन्छन्, ‘राजनीतिमा फ्रेसनेश र अनुभवको प्रिमियर हुन्छ । फ्रेसनेश र अनुभवको सन्तुलनबारे बाहिरी साथीहरुको चासो राख्न सक्नुहुन्छ । तर, सन्तुलनलाई कायम राख्ने कुरा हाम्रो आन्तरिक पार्टीमै छोडिदिनुहोला ।’
राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्ने बताउँदै उनले भने, ‘चेस खेल्न बसेपछि गोटी चाल्नैपर्छ । उँट, घोडा, हात्ती रानी र पिउसो चलाउने थालेपछि मन्त्रीलै लगाएर चेटमेट गर्ने अवस्थामा पनि हामी पुग्न चाहन्छौं । प्रधानमन्त्रीको समर्थनमा हाम्रो चाल यहीनै हो ।’
उपसभापति डा वाग्लेले आफ्नो पार्टी नयाँ भएको र जनताका काम गर्न आएको बताउँदै रास्वपाले सार्वजनिक सेवा प्रवाहका लागि गठबन्धन गरेको स्पष्ट पारे ।
रास्वपाले सरकारमा बसेर सुशासन र सेवा प्रवाह गर्ने उल्लेख गर्दै उपसभापति वाग्लेले त्यो काम गर्न नसकेको दिन पार्टी आफै सरकारबाट बाहिरिने पनि स्पष्ट गरे ।
Advertisment