Below Menu
Below Menu

ऋण लगानीमा कडाइ गर्दै सहकारी, थुप्रिँदै तरलता  

ऋण लगानीमा कडाइ गर्दै सहकारी, थुप्रिँदै तरलता  

काठमाडौं : अहिले विश्व नै आर्थिक मन्दीको चपेटामा छ । मन्दीको असरबाट नेपाल पनि अछुताे रहन सकेन । मन्दीकै कारण अहिले नेपालको समग्र वित्तीय क्षेत्र सकसमा छ । बजारमा आर्थिक गतिविधि सुस्ताउँदा त्यसको असर प्रत्यक्ष असर वित्तीय क्षेत्रमा देखिएको हो । एकातिर लगानी गर्न नसकेर बैंकहरुमा पैसा थुप्रिएको छ भने अर्कोतिर लगानी गरेको ऋण उठाउन नसकेर बैंक तथा वित्तीय संस्थाहरू थप प्रताडित बनेका छन् ।

बैंक तथा वित्तीय संस्थाका पछिल्लो वित्तीय रिपोर्ट हेर्दा खराब कर्जाको ग्राफ निक्कै बढ्दो देखिन्छ । मन्दीको कारण उपभोग्य वस्तुको माग घटेको छ भने ऋण असुल्न नसक्दा समग्र बैंक तथा वित्तीय संस्थाहरू खराब कर्जाको मारमा परेका छन् । 

कर्जा असुलीको समस्या एकातिर छ भने अपेक्षित रुपमा कर्जा लगानी गर्न नसक्दा समग्र वित्तीय क्षेत्रका समस्या थप जटिल बन्दै गएका छन् । आर्थिक शिथिलताका कारण अर्थतन्त्रको तेस्रो खम्बा मानिएको सहकारी क्षेत्र पनि प्रभावित बनेको छ ।

सदस्यहरू बचत फिर्ता नपाएर सडक आन्दोलनमा छन् भने सहकारीहरू लगानी गरेको ऋण उठाउन नसकेर ग्रसित बनेका छन् । भाका नाघेको ऋणले सहकारीको समस्यामा बल पुर्‍याएको छ । ऋणीहरूले लगेको ऋणको साँवा, ब्याज भुक्तानी नगरेपछि सदस्यहरूको बचत फिर्ता गर्न नसकेको सहकारीकर्मीहरु नै स्वीकार्छन् ।

ऋण असुल्न नसके पनि बचत तथा ऋणको कारोबार गर्ने संस्थाहरू आफैँले पछिल्लो समय लगानीमा कडाइ गरेका छन् । जसले गर्दा बैंकहरुमा जस्तै सहकारीमा पनि  तरलता थुप्रिएको छ । लगानीमा जोखिम देखेर संस्थाले कर्जा प्रवाहमा कडाइ गरेका पैसा थुप्रिएको सञ्चालकहरू बताउँछन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९÷८० का अनुसार सहकारी क्षेत्रमा करिब ५ खर्ब रुपैयाँ बचत भएको छ भने ४ खर्ब २६ अर्ब ३५ करोड रुपैयाँ हाराहारी कर्जा (ऋण) प्रवाह भएको छ ।

ग्रामीण भेगका सहकारीहरूले पनि ऋण लगानीमा बढाइ गरेका छन् । रामेछापको मन्थली नगरपालिका वडा नं १ मा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक रमेश कुमार उदासले अहिले ऋण लगानीमा कडाइ गरेको सुनाए ।

उनले भने, ‘पछिल्लो समय सहकारीमा विभिन्न खालका समस्या देखिएका छन् । सहकारी डुबेकादेखि लिएको ऋण तिर्न नसक्ने खालका समस्या देखिएका छन् । त्यति मात्र होइन अहिले ऋण तिर्नका लागि ऋण लिन आउनेहरू पनि छन् । यसले गर्दा हामीले ऋण लगानीमा कडाइ गरेका छौँ ।’

दोलखाको जिरीमा रहेको एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारीले विभिन्न १८ शीर्षकमा सदस्यहरूमा ऋण लगानी गर्दै आएको छ । हाल संस्थाको ऋण लगानीमा रहेको रकम ९६ करोड ९९ लाख ६९ हजार रुपैयाँ रहेको छ भने कर्जा जोखिम व्यवस्थाका लागि दुई करोड ३ लाख ६१ हजार रुपैयाँ छुट्याएको छ ।

तर, ग्रामीण भेगमा सञ्चालित सहकारीमा सहरमा जस्तो समस्या नदेखिएको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भूमिराज खड्का बताउँछन् । उनी भन्छन्, ‘बजारमा हल्लाका गतिविधिले केही छिटाहरू परेका छन् । केही सहकारीहरूले गल्ती पनि गरेका छन् । तर, गाउँका सहकारीमा समस्या देखिएको छैन ।’

देशभरका सहकारीमध्ये १० प्रतिशत सहकारीमा समस्या देखिएको बताउँदै उनले भने, ‘प्रविधिको जमानाले केही अपवाद परेको छ । सहकारीविरुद्ध विभिन्न उजुरीहरू पनि पर्ने गरेका छन् । तर २०० सहकारीको उजुरी सहकारी भागे, चोर भन्नेमा मात्र नभई प्रतिशोध र होडबाजीमा कारण पनि उजुरी परेको छ ।’

अध्यक्ष खड्काको जस्तै तर्क छ जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हेमन्त कुमार चौलागाईको पनि दोलखाको मैना पोखरीमा रहेको उक्त सहकारीका अध्यक्ष चौलागाई भन्छन्, ‘ऋण नतिर्ने आन्दोलनको असर हालसम्म हाम्रो सहकारीमा देखा परेको छैन ।’

हाल संस्थाले विभिन्न १४ शीर्षकमा एक अर्ब १५ करोड १४ लाख ८६ हजार रुपैयाँ ऋण लगानी गरेको छ । यस अवधिमा संस्थाको भाखा नाघेको ऋण २६ करोड तीन लाख ९१ हजार रुपैयाँ रहेको छ । जुन कुल लगानीको १४.२९ प्रतिशत हो । संस्थाले भाखा नाघेको र असल ऋणको लागि ऋण जोखिम कोषमा ८ करोड २६ लाख ८३ हजार रुपैयाँ छुट्ट्याएको छ । गत वर्षको तुलनामा १४.५५ प्रतिशतले ऋण जोखिम कोष बढेको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले बताए । 

भूकम्पका कारण सदस्यहरूको आवासलाई प्राथमिकतामा राखेकाले धेरैजसो लगानी घरजग्गामा भएको उनको भनाई छ । यसका साथै कोरोना महामारीका कारण समग्र अर्थतन्त्रमा समस्या थपिएकाले निष्क्रिय कर्जा केही मात्रामा बढेको उनले बताए ।

सहर केन्द्रित सहकारीमा ऋण असलीमा समस्या देखिए पनि उक्त सहकारीमा भने समस्या नरहेको अध्यक्ष चौलागाईको भनाई छ । उनी भन्छन्, ‘हाम्रो सहकारीमा पनि भाखा नाघेका केही ऋणीहरू हुनुहुन्छ । तर, लामो समयदेखि नै ऋण नतिरेका र तिर्दिन भन्ने कोही छैनन् ।’

दोलखाकै मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्थाको खराब कर्जा पनि ५ प्रतिशत भन्दा माथि रहेको छ । कर्जा सूचना केन्द्रको अभावका कारण पनि ऋण असुलीमा समस्या भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपाने बताउँछन् ।

उनका अनुसार संस्थाको ऋण लगानीमा रहेको रकम ९८ करोड २९ लाख ८५ हजार रुपैयाँ रहेको छ भने भाखा नाघेको ऋण तीन करोड ४४ लाख ४८ हजार रुपैयाँ रहेको छ । 

यता हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले भने खराब कर्जा ५ प्रतिशतमै सीमित राखेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेतले बताए । उनका अनुसार संस्थाको कुल ऋण लगानी ७२ करोड १० लाख ४१ हजार रुपैयाँ रहेको छ भने कर्जा नोक्सानी व्यवस्थामा तीन करोड ५ लाख ३२ हजार रुपैयाँ छुट्याएको छ । 

Advertisment