Below Menu
Below Menu

सहकारीबाट लिएको ऋण समयमै नतिर्नेलाई कारबाही गर्ने महानगरको चेतावनी 

सहकारीबाट लिएको ऋण समयमै नतिर्नेलाई कारबाही गर्ने महानगरको चेतावनी 

काठमाडौं : काठमाडौं महानगरपालिकाले सहकारीका ऋणीहरुलाई समयमै ऋण तिर्न आग्रह गरेको छ । महानगरले एक स्रचना जारी गर्दै सहकारी संस्थाका ऋणी सदस्यहरूलाई समयमै ऋण चुक्ता गर्न भनेको हो । 

ऋणी सदस्यहरूले समयमा नै ऋण भुक्तानी नगरेमा कानुन बमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ । 

संघीय सहकारी ऐन २०७४ को दफा ८३ र ८४, बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ एवं काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ को दफा ६१ र ६२ मा ऋणी सदस्यहरूको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न संस्था स्वयंले सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था गरेको छ ।

महानगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड तथा प्रचलित कानुनको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो, सोही बमोजिम ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तानी गरी समस्या समाधानमा सहयोग गरिदिनुहुन सम्पूर्ण ऋणी सदस्यहरूमा अनुरोध छ । अन्यथा कानून बमोजिम ऋण असुली प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारी गराइन्छ ।'

पछिल्लो समय, सहकारी संस्थाहरूमा आएका विविध समस्याहरूले सहकारीहरूको व्यवस्थापनमा असहज परिस्थिति सिर्जना भएको छ । सहकारी संस्थाबाट सदस्यहरूको बचत रकम नै ऋणीहरूलाई कर्जाको रूपमा प्रवाह हुने गर्दछ । 

ऋणी सदस्यहरूले लिएको ऋण रकमको समयमा सावाँ तथा ब्याज भुक्तान गर्नुपर्नेमा केही ऋणीहरूले विभिन्न बहानाबाजी गर्ने, केही पक्षले सहकारी संस्थाको ऋण तिर्नु नपर्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगरेको गुनासो आइरहेका महानगरले जनाएको छ । 

केही सहकारी संस्थाहरूमा तरलताको समस्याले सदस्यहरूको बचत फिर्ता गर्न नसकेको अवस्था पाइएको महानगरको भनाई छ । 
 

Advertisment

थप समाचार