काठमाडौं : ‘ग्लोबल मनी विक– २०२४’ आरम्भ ‘प्रोटेक्ट योर मनी, सेक्युर योर लाइफ फ्युचर’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक – २०२४’ आजदेखि आरम्भ भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो बाह्रौँं संस्करण हो ।
उक्त अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ग्लोबल मनी विकको उद्घाटन कार्यक्रम (नेशनल लन्च इभेन्ट आयोजना गर्याे ।
उक्त कार्यक्रममा काठमाडौंस्थित विभिन्न सात वटा विद्यालयका कक्षा ७ देखि १२ मा अध्ययनरत पाँच सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रमको उद्घाटन गरे ।
सो अवसरमा उनले वित्तीय समावेशीकरणको लक्ष्य प्राप्तिका लागि वित्तीय साक्षरतालाई प्रभावकारी तुल्याउनुपर्ने आवश्यकतामाथि प्रकाश पारे । वित्तीय साक्षरताको प्रवद्र्धनबाट मात्रै वित्तीय समावेशीकरण हासिल गर्न सकिने गभर्नर अधिकारीको भनाइ थियो ।
उनले भने, “राज्यका सबै तहका व्यक्तिसम्म वित्तीय सेवा नपुग्दासम्म वित्तीय समावेशीकरणको लक्ष्यमा पुग्न सकिँदैन । वित्तीय साक्षरता त्यसको एउटा अभिन्न पक्ष हो ।” ग्लोबल मनी विकको साताव्यापी अभियानलाई सफल तुल्याउनका निम्ति बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रम सञ्चालन गर्न उनले सबैसरोकारवाला निकायलाई आग्रह गरे ।
सानै उमेरदेखि नै बचतको अभ्यासलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले आफ्नो सुरक्षित वित्तीय भविष्यको निम्ति जागरुक रहन विद्यार्थीहरूलाई आग्रह गरे ।
कार्यक्रमको उद्घाटन सत्रमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसँगैराष्ट्र बैंक र वित्तीय क्षेत्रका अन्य नियामक निकायका उच्च अधिकारी तथा बैंकरहरूको उपस्थिति थियो ।
कार्यक्रमको दोस्रो सत्रमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, सहकारी विभाग, बैंकर्स एसोसिएनका अधिकारी र विद्यार्थीहरूको सहभागितामा प्यानल छलफल भएको थियो ।
सो अवसरमा राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मी, सहकारी विभागका उप– रजिष्ट्रार टोलराज उपाध्याय र नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसीले आ–आफ्ना निकायको कार्य क्षेत्र र कामकारबाहीसँग सम्बन्धित विषयमा विद्यार्थीलाई जानकारी दिए ।
त्यस क्रममा उनीरूले विद्यार्थीले राखेका जिज्ञासाको जवाफसमेत दिएका थिए । नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका निर्देशक किरण पण्डितले प्यानल छलफलको सहजीकरण गरेका थिए ।
प्यानल छलफलपश्चात् कार्यक्रममा सहभागी विद्यालयका तर्पmबाट विद्यार्थीहरूले वित्तीय प्रणालीसँग सम्बन्धित विषयमा विभिन्न प्रस्तुति दिएका थिए । चैत ११ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् ।
नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना हुनेछन् ।
साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन्। यस अभियानअन्तर्गत बैंकिङ/वित्तीय, पुँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन् ।
जसअन्तर्गत वित्तीय सचेतनामूलक अन्तरक्रिया र विद्यार्थीमाझ चेतनामूलक प्रतियोगिता सञ्चालन हुनेछन् भने सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट चेतनामूलक कार्यक्रम, श्रब्यदृष्य सामग्री र अन्तर्वार्ताहरू प्रसारण गरिनेछन् । यस्तै, युवा विद्यार्थीलाई वित्तीय सेवाप्रदायक संस्थाको अवलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ ।
उक्त अभियानबाट युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवद्र्धन र वित्तीय पहुँच विस्तारसँगै स्वरोजगार सिर्जना र उद्यमशीलताको विकास, उत्पादन तथा आयस्तर अभिवृद्धि भई मुलुकको आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
‘ग्लोबल मनी विक’ मूलतः किशोर÷किशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्ट (ओइसीडी) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ ।
राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ । हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब छ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको (ओइसीडी) ले जनाएको छ । ग्लोबल मनी विकको स्थायी नारा ‘लर्न सेभ अर्न’ तय गरिएको छ ।
Advertisment