काठमाडौं : सरकारले सहकारी क्षेत्रका समस्या समाधान गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले आईतबार मन्त्रीस्तरीय निर्णयबाट सहकारी सम्बन्धी विषयक्षेत्र हेर्ने महाशाखा प्रमुख सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।
उक्त समितिमा सहकारी विभागका रजिष्ट्रार सह–संयोजक गृह मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य तथा उपसचिव विष्णु पौडेल सदस्य सचिव रहेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आह्वानमा सरकारविरुद्ध आन्दोलन गर्दै आएका सहकारीका बचतकर्ताहरुसंग वार्ता गर्न समिति गठन गरिएको हो ।
वार्ता टोलीले संघर्षरत पक्षसँग वार्ता एवं छलफल गरी समस्या समाधानका नीतिगत, कानूनी, संरचनागत एवं व्यवस्थापकीय पक्षमा गर्नुपर्ने व्यवहारिक र कार्यान्वयनयोग्य सिफारिस मन्त्रालयमा पेश गर्ने मन्त्रालयले जनाएको छ ।
सहकारीको बचतकर्ताहरुले गर्दै आएको संघर्षका कार्यक्रमहरुप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । ‘यस विषयप्रति संवेदनशील रहँदै विगतदेखि नै समस्या समाधानको लागि औपचारिक तथा अनौपचारिक ढंगबाट अध्ययन, वार्ता एवं छलफल गर्दै नीतिगत, कानूनी एवं संरचनागत सुधारको लागि मन्त्रालय प्रयासरत रहेको व्यहोरा स्मरण गराउन चाहन्छ’, जारी विज्ञप्तिमा भनिएको छ ।
सहकारीका समस्या समाधानका लागि शुरु गरिएका पहल कदमीहरुलाई थप द्रुतता दिई समस्या समाधानको दीर्घकालिन सम्बोधनका लागि ठोह पहल थालिएको भन्दै समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।
यसका साथै संघर्षका पूर्व निर्धारित सबै कार्यक्रमहरु स्थगित गरी संघर्षरत पक्षका आधिकारिक प्रतिनिधिहरु यस मन्त्रालयबाट गठित वार्ता टोलीसँग वार्तामा बसी वार्ता र संवादबाटै वर्तमान समस्याको समाधानको लागि अग्रसर हुन मन्त्रालयले आह्वान गरेको छ ।

Advertisment