Below Menu
Below Menu

मधेस प्रदेशमा एसइई परीक्षामा ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुँदै

मधेस प्रदेशमा एसइई परीक्षामा ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुँदै

धनुषा : मधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् । यही चैत १५ गतेदेखि सुरु हुने एसइई मा मधेस प्रदेशबाट कूल ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ । 

परीक्षामा मधेस प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी विद्यार्थी धनुषाबाट र सबैभन्दा कम सङ्ख्या सप्तरीबाट रहेका छन् । धनुषाबाट चार सय ८९ जना प्राविधिकतर्फका गरी १२ हजार दुई सय १४, सिराहाबाट १० हजार नौ सय २३, महोत्तरीबाट नौ हजार चार सय ३१, सर्लाहीबाट १० हजार आठ सय ९६, रौतहटबाट नौ हजार चार सय ६९, बाराबाट नौ हजार चार सय ४४, पर्साबाट १० हजार ६८ र सप्तरीबाट नौ हजार तीन सय २३ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक दिलीपकुमार ठाकुरले  परीक्षाका लागि आवश्यक तयारी द्रुत गतिमा भइरहेको बताए । निर्देशक ठाकुरले आठ जिल्लामा गरी दुई सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने दुई सय ९५ केन्द्राध्यक्ष, पाँच सय ३० सहायक केन्द्राध्यक्ष, चार हजार ९२ निरीक्षक, आठ सय सात परीक्षा सहायक, एक हजार छ सय ३९ जना कार्यालय सहयोगी गरी जम्मा सात हजार छ सय ५८ जना कर्मचारी खटाइने बताए ।

आवश्यक तयारी करिब पूरा भएका बताउँदै निर्देशक ठाकुरले  मधेस प्रदेशका सबै जिल्लामा शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयमा उत्तरपुस्तिका र प्रश्नपत्र जिल्लास्थित जिल्ला प्रहरी कार्यालयमा पठाइसकेको जानकारी दिए । उनले यस प्रदेशमा एसइई परीक्षालाई मर्यादित, अनुशासित र व्यवस्थित रुपमा सम्पन्न गराउन आठवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले निरीक्षण तथा अनुगमन गरिने बताए । 

त्यसैगरी, मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्रलगायत निकायलाई समेटेर प्रदेशस्तरीय अनुगमन टोली बनाएर अनुगमन गरिने निर्देशक ठाकुरले जानकारी दिए । 

Advertisment

थप समाचार