काठमाडौं : संघीय सहकारी विभाग र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले काठमाडौं, ललितपुर र काभ्रे जिल्लामा सञ्चालित नौ सहकारीको सघन अनुगमन सम्पन्न गरेको छ । विभाग र नेपाल राष्ट्रका प्रतिनिधि संलग्न तीन टोलीले नौ सहकारीको अनुगमन गरेको हो ।
टोलीले पहिलो चरणमा काभ्रेका तीन, ललितपुरको एक र काठमाडौंका पाँच सहकारीको अनुगमन गरेको थियो । टोलीले काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था, बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था र सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको हो । त्यस्तै काठमाडौंको चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था, देबदर्शन बचत तथा ऋण सहकारी संस्था, नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था, शुभरत्न बचत तथा ऋण सहकारी संस्था र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को अनुगमन गरेको हो । त्यसैगरी ललितपुरको राष्ट्रिय सहकारी बैंकको सघन अनुगमन गरेको छ ।
अनुगमनको नेतृत्व सहकारी विभागका उप-रजिष्ट्रार टोलराज उपाध्यायले गरेका थिए । अनुगमनका लागि राष्ट्र बैंकले उपनिर्देशक डा. रमेश चौलागाईं, गैर बैंकिङ वित्तीय संस्था विभागका रामकृष्ण राई र लघुवित्त विभागका रमेश पौडेललाई पठाएको थियो ।
अनुगमनको क्रममा अधिकांश सहकारीको लगानी घरजग्गामा गरेको पाईएको अनुगमनमा संलग्न एक अधिकारीले बताए । ती सहकारीले सिमाभन्दा बढी घरजग्गामा लगानी गरेको भेटिएको ती अधिकारीले बताए । त्यस्तै खराब कर्जा बढी, मुल्यांकनभन्दा बढी कर्जा लगानी, भाखा नाघेको कर्जाको लागि प्रयाप्त कोष व्यवस्था नगरेको, लेखा समितिको प्रभावकारी भूमिका कमजोर, विना सुरक्षण कर्जा प्रवाह, सदस्य सेवालाई भन्दा नाफालाई बढी प्राथमिकता दिएको, गैर बैंकिङ सम्पत्तिमा वृद्धि लगायतका त्रुटी फेला परेको छ ।
पहिलो चरणको अनुगमन सकिएसँगै प्रतिवेदनको तयारीमा टोली जुटेको छ । त्यस्तै दोस्रो चरणको अनुगमनको लागि संस्था छनोटमा समेत सहकारी विभाग जुटेको छ ।
Advertisment