Below Menu
Below Menu

सरकारी खातामा १५२ अर्ब नगद मौज्दात, क्यास सर्कुलेशन ३९ अर्बले बढ्याे

सरकारी खातामा १५२ अर्ब नगद मौज्दात, क्यास सर्कुलेशन ३९ अर्बले बढ्याे

काठमाडौं : एक महिनामा सरकारी खातामा साढे ४० अर्ब रुपैयाँ नगद मौज्दात थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा सरकारी खातामा १५२ अर्ब रुपैयाँ नगद मौज्दात रहेको छ ।

उक्त रकम स्थानीय र प्रदेश सरकार समेतको खातामा रहेको रकम हो । सरकारका खातामा रहेको मौज्दात रकम फागुनमा भने बढ्दो क्रममा छ । यो रकम सरकारले खर्च गरेर बाँकी रहेको रकम हो ।

उक्त रकम गत माघ महिनाको तुलनामा ४० अर्ब ७० करोड अर्थात ३६.५६ प्रतिशतले बढेको हो । माघ मसान्तसम्म यस्तो रकम १११ अर्ब ३० करोड रुपैयाँले रहेको थियो ।

२०८० असार मसान्तसम्म ६० अर्ब रुपैयाँ रहेको यस्तो मौज्दात चालु आवको फागुन मसान्तसम्म आइपुग्दा ९२ अर्ब रुपैयाँले बढेको थियो । 

यस अवधिमा सरकारी ढुकुटीमा १ खर्ब ७८ अर्ब बढी निक्षेप रहेको जनाएको छ । यस अवधिमा विभिन्न बैंकहरुमा रहेको सरकारी खातामा कूल १ खर्ब ७८ अर्ब ६४ करोड १९ लाख रुपैयाँ निक्षेप रहेको बैंकले राष्ट्र बैंकले जनाएको हो । उक्त रकम नगद मौज्दात केन्द्रीय बैंक (संघीय सरकार), प्रदेश सरकार र स्थानीय तहको समेत हो । 

२०८० असारसम्म यस्तो निक्षेप जम्मा ४५ अर्ब ८ करोड ९४ लाख रुपैयाँ मात्र रहेको थियो । उक्त रकम फागुन मसान्तसम्म आइपुग्दा एक खर्ब ३३ अर्ब ५५ करोड रुपैयाँले बढेको छ । 

यस अवधिमा सरकारको सरप्लस मौज्दात भने घटेर १० अर्ब रुपैयाँमा झरेको छ । गत असार मसान्तसम्ममा २५ अर्ब रुपैयाँ बराबर रहेको सरकारी सरप्लस फागुन मसान्तसम्मा १५ अर्ब रुपैयाँले घटेको हो । 

राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म वित्तीय बजारमा ३९ अर्ब ९ करोड रुपैयाँ भन्दा बढी नगद प्रवाह बढेको छ । यस अवधिमा नगद प्रवाह ६ खर्ब ६४ अर्ब ८७ करोड ८८ लाख ९ हजार ८३५ रुपैयाँ पुगेको हो । 

२०८० असार मसान्तसम्म यस्तो प्रवाह ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख ७२ हजार ५३० रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बजारमा क्यास सर्कुलेशन ३९ अर्ब ९ करोड ९ लाख ३७ हजार रुपैयाँले बढेको छ । 

त्यसैगरी राष्ट्रिय ढुकुटीमा नेपालको सम्पत्ति दुई खर्ब ७१ अर्ब १ करोड ३० लाख रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार गत असार महिनासम्ममा १५ खर्ब ८८ अर्ब १२ करोड ५६ लाख रुपैयाँ रहेको यस्तो सम्पति माग महिनासम्ममा आइपुग्दा बढेर १८ खर्ब ५९ अर्ब १३ करोड ८७ लाख पुगेको छ ।

 


 

Advertisment

थप समाचार