काठमाडौं : विभिन्न पाँच कम्पनीले आठ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । फर्स्ट माइक्रोफाइनान्स, हिमालयन लाइफ, सिद्धार्थ प्रिमियर र युनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएका हुन् ।
कम्पनीहरुले विद्यमान शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउनेगरी आठ लाख ३८ हजार ५५९ कित्ता शेयर बिक्रीमा ल्याएका हुन् ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको २ लाख ८७ हजार ५०० कित्ता शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीको शेयरको मूल्य प्रतिकित्ता २१० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता शेयर माग गर्दै आवेदन पेश गर्नुपर्नेछ ।
यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि विक्री खुला शेयरमा आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी कम्पनीले यी शेयर विक्री खुला गरेको हो ।
त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ६४ हजार ५०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले स्वदेशी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनी तथा जो कोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी बिक्रीमा आएको हो ।
कम्पनीको शेयरको मूल्य प्रतिकित्ता १७५ रूपैयाँ तोकिएको छ । यी दुबै इन्स्योरेन्सको शेयर खरिदका लागि इच्छुक लगानीकर्ताहरूले आवश्यक कागजातसहित चैत २० गतेभित्र एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय थापाथलीमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
फर्स्ट माइक्रोफानान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको १ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ । कम्पनीको शेयरमूल्य १०० रुपैयाँ तोकिएको छ ।
विद्यमान शेयरधनीका लागि बिक्री खुला गरेको शेयरमा आवदेन नपरेपछि कम्पनीले सर्वसाधारणहरुको लागि बिक्रीमा ल्याएको हो । संस्थाको शेयर खरिद गर्न लगानीकर्ताले न्यूनतम १५ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ ।
इच्छुक व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले आवश्यक कागजात सहित चैत १५ गते भित्र मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर नक्सालमा आवेदन पेश गर्नुपर्नेछ ।
त्यसैगरी युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले दुई जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ४९ हजार ११६ कित्ता शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयरको खरिद मूल्य प्रतिकित्ता न्युनतम २७० रुपैयाँ रहेको छ ।
कम्पनीको शेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजातसहित ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय सिटिसि मल सुन्धारा काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको समयमा कुनै पनि शेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जनाएको छ ।
Advertisment