Below Menu

सहकारीमा जोडिएका लाखौं शेयर सदस्यलाई निराशा हुन दिदैनौँ : मन्त्री अधिकारी 

सहकारीमा जोडिएका लाखौं शेयर सदस्यलाई निराशा हुन दिदैनौँ : मन्त्री अधिकारी 

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उद्देश्य एउटा काम गर्ने अर्काे हुँदा सहकारीको समस्या आएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालद्वारा आयोजित ६७औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा मन्त्री अधिकारीले सहकारीप्रति वितृष्णा जगाउन नहुने बताए । ‘सहकारी अभियानमा जोडिएका लाखौं शेयर सदस्यलाई निराशा हुन दिदैनौँ । अहिलेको सरकारले न्यूनतम साझा कार्यक्रममा सहकारीको समस्या समाधान गर्ने कुरा ल्याएको छ । हाम्रो विकासको संरचनालाई आधार मान्दा यसैबाट जानुपर्ने देखिन्छ’, मन्त्री अधिकारीले भने ।     
     
कागजी काम धेरै गर्ने तर व्यवहारमा उतार्ने काम नहुँदा सहकारीमा समस्या देखिएको बताउँदै उनले अहिले देखिएका समस्या समाधानका लागि आन्दोलनकारीसँग वार्ता पनि गरिएको बताए । ‘सहकारीभित्र देखिएका समस्या समाधान गर्न टोली बनाएर जानुपर्छ, नयाँ कानुन ल्याउनुपर्छ भन्ने पनि हाम्रो सोच छ । सरकार, सहकारी र समुदाय मिलेर समस्या समाधानमा लाग्नुपर्छ । केके आधार तय गर्नुपर्छ हामी गर्न तयार छौँ । कमजोरी सहकारीका शेयर सदस्यहरुको पनि छ’, उनले भने ।     
     
राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष तथा पूर्वमन्त्री केशवप्रसाद बडालले सहकारीमा अहिले देखिएको समस्याले सहकारी क्षेत्रलाई शुद्धिकरण गर्ने समय भएको जनाउ दिएको बताए । ‘दर्ता गर्दैखेरि लुट्ने ध्येय राखेर दर्ता भएका सहकारी संस्था र सहकारी र कम्पनीको फरक छुट्याउन नसक्ने नेताका कारण समस्या भएको हो । एउटै मान्छेले धेरै ठाउँमा संस्था खोलेको छ, यसमा दोषी सरकार हो । सहकारी सङ्घ, महासङ्घ हैन । सबै संस्था खराब हैनन्’, उनले भने ।
     
महासङ्घका पूर्वअध्यक्ष तथा पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटाले सहकारीको समस्याको पहिचान गर्दै त्यसलाई समाधान गर्ने बाटो खोज्नुपर्ने र सरकारले त्यसलाई सहजीकरण गरिदिनुपर्छ भन्नेमा जोड दिए । ‘सहकारीलाई छुट्टै नियमन गर्नुपर्छ । तालिम केन्द्र कलेजहरुको स्थापनाका साथै विश्वविद्यालयको स्थापना गरिनुपर्छ । सहकारीको विशिष्ट कार्यक्षेत्र सरकारद्वारा निर्धारण गरिनुपर्छ । सहकारीको ब्यानरमा ठगी गर्ने पद्धतिलाई रोक्ने व्यवस्था छैन । ४७ वटा ऐन संशोधन गर्नुपर्छ भनेर महासङ्घले पाँच÷सात वर्ष भइसकेको छ’, उनले भने ।  
     
पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय सहकारी महासङ्घका सल्लाहकार खगराज अधिकारीले सहकारी अभियन्ताहरु नै विवादमा पर्दा सहकारीमा समस्या आएको र सहकारी अभियानमा प्रश्न उठेको बताए । ‘सहकारीमा आबद्ध भएर शक्ति र सरकारको दुरुपयोग गर्न खोज्नेहरु अभियन्ता हुन सक्दैन । यस्ताहरुसँग सरकारले सम्झौता गर्नु हुँदैन । कानुनको दायरामा रहेर आफ्नो काम गर्नुपर्छ । सहकारीलाई ढुकुटीजस्तो बनाएर पहुँच हुनेले जे गरे पनि हुन्छ भन्ने अवस्था सृजना गर्नु हुँदैन’, उनले भने ।

महासङ्घका सल्लाहकार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले स्थायित्व र सुशासन कायम नभएसम्म जनताले राहत महसुस गर्न नसक्ने जनाउनुहुँदै अहिले ठूलो जिम्मेवारी प्रमुख दलहरुमा रहेको बताए । ‘सहकारीले कहिलेकाहीँ गलत ठाउँमा लगानी गर्दा र समयमा बचत फिर्ता गर्न नसक्दा बचतकर्तामा निराशा छाउन सक्छ । सहकारीलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर सोच्नुपर्छ’, उनले भने ।
     
महासङ्घका सल्लाहकार तथा पूर्वमन्त्री लीलामणि पोखरेलले आर्थिक, सामाजिक क्षेत्रमा योगदान दिँदै मुलुकलाई समृद्धितिर लैजाने माध्यम सहकारी भएको बताए । ‘सामूहिक उन्नयन सहकारीको उद्देश्य हो, अहिले सहकारी अभियन्ताहरु यो उद्देश्यबाट विचलित भएको कारण जनतामा सहकारीप्रति नकारात्मक भाष्य सृजना भएको छ । हामीले स्वअनुसाशनको कुरा गर्दा जनताको सम्पत्तिको सुरक्षा गर्ने दायित्व राज्यको हो भन्ने कुरा बुझेनौँ’, उनले भने ।
    
राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले संविधानमा उल्लेख भएका कुरालाई कसैले पनि विभेद गर्न नपाइने बताउँदै १६औँ आवधिक योजनाभित्र सहकारीको भूमिकालाई कमजोर बनाइनु नहुने धारणा राखे ।
   
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले ६७औँ सहकारी दिवसको नाराअनुसार नै सहकारीमा सुशासनः प्रविधि र एकीकरणको आधारमा समुदायको आर्थिक–सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकोस् भन्ने धारणा राखे । उनले केही सीमित सहकारीका कारणले सिङ्गो सहकारी क्षेत्र बदनाम भएको जनाउँदै व्यक्ति मनोमानीमा निजी कम्पनी जसरी सहकारी चल्दा समस्या आएको बताए ।

सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेले यो दिवसबाट सहकारीकर्मीमा सहकारी क्षेत्रमा सुशासन कायम गर्दै सदस्यको आर्थिकस्तर उकास्न सक्ने प्रेरणा मिल्ने धारणा राखे । महासङ्घका अध्यक्ष ओमदेवी मल्लले नीति, नियम, कानुनका व्यवस्थाहरु पालना गरेर काम गर्नु नै सुशासन हो भन्नुहुँदै सुशासनमा बस्दा सहकारी क्षेत्रमा समस्या नआउने बताईन ।

कार्यक्रममा सरकारका पूर्वसचिव डा. प्रतापकुमार पाठकले ‘सहकारीमा सुशासनः प्रविधिको उपयोग एवम् सहकारी एकीकरण’ विषयमा प्रस्तुतीकरण गरेका थिए ।

थप समाचार