बिर्तामोड : सहकारी अभियन्ता महेन्द्र कुमार गिरी ‘विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट सम्मानित हुने भएका छन् ।
सहकारीसँगै सामाजिक कार्यमा सक्रिय गिरीसहित गोर्खा फाउण्डेशनले गिरीसहित पाँच जनालाई राष्ट्रिय ब्यक्तित्व सम्मान प्रदान गर्न लागेको हो । ३४ जना सदस्यबाट स्थापना भएको सहारा नेपाल साकोसलाई नेपालकै सबैभन्दा ठूलो सहकारी बनाउन योगदान साथै समर्पण भवन निर्माण, एकका लागि एक अभियान, सडक दुर्घटना न्यूनिकरण महाअभियान, पिसिआर ल्यावको स्थापना, अक्सिजन सिलेण्डरको व्यवस्थापन, झापा गोल्डकपलगायतका दर्जनौं सामाजिक संस्थामा नेतृत्वदायी भुमिका निर्वाह गरेर समाज र देशका लागि अतुलनिय कार्य गरेको भन्दै गिरीलाई सम्मान गर्न लागिएको हो । आयोजक संस्थाले आज पत्रकार सम्मेलन गरी सम्मानित हुनेको नाम सार्वजनिक गरेको हो ।
गिरी सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत हुन् । गिरी सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकका सञ्चालक समेत हुन् ।
सम्मानित हुनेहरुमा वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, अभिनेता राजेश हमाल, प्रमुख जिल्ला अधिकारी सीता परियार र अन्टाक्र्टिका महादेश पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा रहेका छन् । पाँचै जनालाई एक कार्यक्रमको बीच चैत्र २१ गते बिर्तामोडमा सम्मान गरिने आयोजकले जनाएको छ ।
नेपाल राष्ट्र निर्माता पुथ्वीनारायण शाहका आर्थिक सल्लाहकार भनिएका तत्कालीन गोरखा दरबारमा दरबारिया तथा राजपरिवारको भोटो सिलाउने साथै दरबारमा नगरा बजाउने नौबाग तथा बिशे नगर्चीको योगदानका स्मरण गर्दै नयाँ पुस्ता बीच पुनःस्थापित गराउने उद्देश्यले उक्त कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष बिरु दर्नालले जानकारी दिए । राजा पृथ्बीनारायण शाहलाई स–साना राज्यहरुलाई एकीकरण गर्न आर्थिक अभावका समयमा बिशे नगर्चीको सल्लाह अनुसार समस्या समाधान भएको इतिहासमा पढ्न सकिने आयोजक संस्थाका अध्यक्ष दर्नालले बताए ।
पत्रकार सम्मेलनमा सम्मान छनौट समितिका संयोजक हस्त परियार, आयोजक संस्थाका सदस्यलगायतको उपस्थिति थियो ।
Sponsored Advertisment