काठमाडौं : होटल संघ पोखरा नेपालले १९ औं फेवा नव बर्ष महोत्सव २०८१ को आयोजना गर्ने भएको छ । संघले चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म फेवातालको किनार स्थित स्थानीय ड्यामसाइड चोक देखि खहरेचोकसम्मको सडकमा विविध सांस्कृतिक कार्यक्रम सहित महोत्सव आयोजना गर्न लागेको हो ।
बुधबार पत्रकार सम्मेलन गर्दै “पर्यटन संस्कृति र खाना“ भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत खानाको प्रबर्द्धन गर्ने मुख्य उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
पर्यटन व्यवसायी र समग्र गण्डकी प्रदेशवासीको लामो प्रयास पछि पोखरा पर्यटनको राजधानी घोषणा भएको बताउँदै उनले महोत्सवले होटल व्यवसायलाई थप टेवा पुग्ने बताए । साथै उनले महोत्सवमा आउने स्थानीय आन्तरिक र बाह्य पर्यटकहरुलाई प्रवेश शुल्क निशुल्क गरिएको समेत उनले बताए ।
महोत्सवमा तीन लाख पर्यटकले अवलोकन गर्ने संघका अध्यक्ष सुवेदीको भनाई छ । एक लाख बाह्य पर्यटक आउने अनुमान गरिएको छ भने स्थानीय र आन्तरिक पर्यटक दुई लाखले मेलाको अवलोकन गर्ने उनले बताए
उनका अनुसार महात्सवका अनुसार संघ मातहतका होटलहरुको प्रकाशित दररेटमा २० प्रतिशत सम्म छुटका व्यवस्था समेत गरिएको छ । यसका साथै उनले अन्य पर्यटकीय सेवा सुविधामा पनि सम्बन्धित व्यवसायीका तर्फबाट भारि छुट प्रदान गर्ने बताए ।
पोखरामा १२ सय होटलहरु रहेका छन् भने भने ४० हजार बेड संख्या रहेको छ । होटल संघ नेपालसँग आवद्ध रहेका होटलहरु ४२५ वटा रहेका छन् ।
महोत्सवले कोभिड १९ पश्चात् पुर्ववत् अवस्थामा संचालन हुन नसकी थला परेको होटल तथा पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउँदै आन्तरिक एवं बाह्य पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य लिएको आयोजकको भनाई छ ।
पत्रकार सम्मेलनमा बोल्दै होटल संघ नेपालका अध्यक्ष विनायक शाहले पर्यटकीय स्थलसम्म पुग्ने विकास निर्माणका काममा सरकारले तीव्रता दिन आवश्यक रहेको बताए । उनले भने, ‘नेपाल घुम्न आउने भारत पछि धेरै युरोपेली मुलुकका नागरिकहरु रहेका छन् । समयमा पूर्वाधार निर्माणका काम नहुँदा पर्यटकहरुलाई सास्ती हुने गरेको छ । घुम्न आएका मान्छे १२ घण्टा लगाएर कसरी जान्छ पोखरा ?’
साथै उनले सरकारले पूर्वाधार निर्माणका काममा चासो नदिँदा अर्थतन्त्रको खम्बा मानिएको पर्यटन क्षेत्रबाट लिन सक्ने प्रतिफल समेत लिन नसकेको बताए । ‘सरकार १० लाख आउँदा खुसीयाली मनाएर बसेको छ । यो पर्याप्त होइन । हामीसँग ती दोब्बर पर्यटक भित्रयाउने क्षमता छ’, उनले थपे ।
महोत्सवका प्रमुख आकर्षणहरुमा गण्डकी प्रदेशमा रहेका रैथाने खानाको प्रवर्द्धन, परम्परागत नेपाली खानाको प्रवर्द्धन, सांस्कृतिक झाँकीका कार्यक्रम, लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्धारा विभिन्न सांस्कृतिक नृत्य सहित हास्यव्यङ्गय प्रस्तुती र पर्यटक दौड प्रतियोगिता समेत रहेको छ ।
नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउने गरी महोत्सवको तयारीका लागि २१ वटा विभिन्न समिति गठन गरी एरिया संयोजक समेत तोकिएको छ ।
महोत्सवमा विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल पनि समेटिने छन् । गोर्खा ब्रुरुअरीको मुख्य प्रायोजन रहेको महोत्सवलाई पोखरा महानगरपालिका र पर्यटन बोर्डले प्रबर्द्धन गरेका छन् ।
Advertisment