काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा १६ अर्ब बढीको बोनस शेयर सूचीकृत भएको छ । चालु आर्थिक वर्षको आठ महिना अर्थात फागुन मसान्तसम्म विभिन्न कम्पनीको १६ अर्ब ७ करोड बराबरको बोनस शेयर सूचीकृत भएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक अनुसार यस अवधिमा सूचीकृत ८ अर्ब २२ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब १४ अर्ब ६५ करोड रहेको छ ।
फागुन मसान्तसम्म ६८ अर्ब ८५ करोड बराबरको साधारण शेयर, १७ अर्ब ७९ करोड बराबरको हकप्रद शेयर, ३ करोड बराबरको एफपीओ गरी कुल १०२ अर्ब ७४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
गत आवको फागुनसम्म १९५३.०६ रहेको नेप्से सूचकाङ्क चालु आवको सोही अवधिमा २१०८.७३ कायम भएको छ । यस अवधिमा धितोपत्र बजार पँुजीकरण ३३ खर्ब १४ अर्ब ६३ करोड कायम भएको छ । २०७९ फागुन मसान्तमा बजार पुँजीकरण २८ खर्ब २३ अर्ब ६८ करोड रहेको थियो ।
यस अवधिमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ । जसमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत् कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९ फागुनमा सूचीकृत कम्पनीहरूको संख्या २४५ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.३ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.२ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ८० करोड बराबरको साधारण शेयर, ६ अर्ब २ करोड बराबरको डिबेन्चर, ५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र ३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल २४ अर्ब ७८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
Advertisment