Below Menu
Below Menu

बिक्न छाडे चोयाका सामग्री

बिक्न छाडे चोयाका सामग्री

ढोरपाटन : निसीखोला गाउँपालिका–६ का भुमबहादुर बुढामगरले ३३ वर्षदेखि चोयाबाट सामग्री बुन्दै आएका छन् । घर नजिकैको जङ्गलमा प्रसस्त चोया पाइने हुँदा डोको, नाङ्लो र डालो बुन्न उनले सानैबाट सिके । बाउ बाजेले बुनेको देखेर सिकेका बुढामगरले अहिले पनि यो कामलाई निरन्तरता दिएका छन् ।  हिँजोआज चोयाका सामग्री बिक्री हुन छाडेपछि उनमा त्यत्ति जाँगर छैन ।

एक दशक अगाडिसम्म चोयाका सामग्री नै बेचेर परिवार चलाउँदै आएका भुमबहादुर अहिले पेसा परिवर्तन गर्ने सोचमा छन् । बजारमा आएका प्लास्टिकका सामानले चोयाका सामग्री प्रयोग हुन छाडेपछि के पेसा अङ्गाल्ने होला भन्ने चिन्ता उनलाई छ ।

पहिले–पहिले गाउँमा किलोग्राममा किनबेच हुँदैनथ्यो । माना, पाथीका हिसाबले अन्नपात किनबेच गरिन्थ्यो । पछिल्लो समय माना पाथीको प्रचलन हराउँदै गएका छन् । बजारमा प्लास्टिकका डालो, नाङ्ला आउन थालेपछि धेरैको रोजाइमा चोयाका सामग्री पर्न छाडे । मेला महोत्सवका बेला टाढा पुगेर डाला नाङ्ला बच्ने गरे पनि अचेल व्यापार कम हुन हुँदा उनी धेरै टाढा पुग्दैन् । गाउँ घरमा पनि बजारबाटै ल्याएका प्लास्टिकका सामान प्रयोग हुन थालेका छन् । त्यसले मौलिक सीप विस्थापित हुने स्थितिमा पुगेको छ ।

आधुनिक प्रविधिको बढ्दो विकासका कारण पछिल्लो समय आफ्नो उत्पादनले बजार पाउन छाडेको बुढामगरले बताए । सात वर्ष अगाडिसम्म निकै बिक्री हुने डालो पछिल्लो समय यसको लोकप्रियता कम हुँदै गएको उनको भनाइ छ । बजारमा नयाँ–नयाँ प्रविधिका नापतौलका सामग्री आएपछि आफूहरुले बुनेका डालो नाङ्लोले बजार पाउन छोडेको बुढामगर बताउँछन् । परम्परागत नापतौल गर्ने तुलका रुपमा प्रयोग हुने माना, पाथी आजभोलि किलो र लिटरमा परिवर्तन भएको भन्दै गाउँकै मान्छेले डाला नाङ्ला कम प्रयोग गर्ने उनको भनाइ छ ।

तमानखोलाका मीनबहादुर घर्तीले पनि आफ्नो सीपले बजार पाउन छाडेको गुनासो गरे । एक दशक अगाडिसम्म चोयाका सामग्री धेरै बिक्री हुने गरेको भन्दै पछिल्लो समय महिनामा पाँच हजार पार्न पनि मुस्किल पर्ने उनी बताउँछन् । उनले पहिले डोको, नाङ्लो र डालो बेचेर महिनामै रु ३० हजारभन्दा बढी कमाइ गरेको सुनाए । धेरै जसो मान्छेले बजार बस्न थालेपछि गाउँमा उत्पादन हुन सामान प्रयोग गर्न छाडेको उनले बताए ।

उनले अहिले पर्याप्त मात्रामा चोयासमेत अभाव हुँदै गएको बताए । वनमा निगाँलो मासिँदै गएपछि डालो नाङ्लो बुन्ने प्रचलनसमेत घट्दै गएको उनको भनाइ छ ।

“पहिले–पहिले गाउँमा धेरै मान्छे हुन्थे, वन जङ्गल जाने, घाँस दाउरा गर्ने चलन थियो, बारीमा धान, गहुँ, मकै उत्पादन गर्ने ठूलो ठूलो डालो र भकारीमा राख्ने चलन थियो, अहिले त गाउँमा मान्छे कम छन्, घाँस दाउरा गर्न छाडे, खेतीपाती पनि कमले गर्छन् पहिलेको जस्तो डालो नाङ्लोको आवश्यक कम पर्छ”, उनले भने, “पहिले यस्ता सामग्रीको धेरै खाँचो हुन्थ्यो, धेरैले सिकेर बुन्थे पनि तर अहिले त बुन्ने मान्छे पनि कम हुँदै गए, हाम्रो समाजले आफ्नो मौलिकतालाई चिन्न छोड्यो ।”

Advertisment

थप समाचार