काठमाडौं : नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) लाई प्राप्ती गर्ने भएको छ । नेप्सलाई गाभ्ने प्रस्ताव पारित गर्ने दुबै कम्पनीहरूले बैशाख १३ गते विशेष साधारण सभा बोलाएका छन् । स्रोतका अनुसार एनसीएचएलले १००ः२८ स्वाप रेसियोमा नेप्सलाई गाभ्ने भएको हो ।
एनसीएचएलको विशेष साधारणसभा होटल रोयर सिङगी, कमलादी, काठमाडौंमा दिउँसो १२ः१५ बजे र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स (नेप्स) को साधारणसभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा दिउँसो १२ः१५ बजे हुनेछ । सभाले प्राप्ती प्रस्ताव पारित गर्दै अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समपक्ष पेश गर्ने निर्णय समेत गर्नेछ ।
यसका साथै सभाले राष्ट्र बैंकबाट कुनै सुझाब आएमा त्यसको आवश्यक संशोधन तथा समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सभाले गर्नेछ । दुबै कम्पनी नेपाल राष्ट्र बैंकबाट वित्तीय भुक्तानी प्रणाली सञ्चालनका लागि अनुमति प्राप्त गरेका हुन् ।
नेप्सले हालसम्म विभिन्न कार्ड स्किमको लागी कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थालाई सेवा दिँदै आएको छ भने एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्ममार्फत आफ्नो सदस्यहरूलाई सेवा दिँदै आएको छ ।
Advertisment