काठमाडौं : नेपाल राष्ट्र बैंकले ब्याजदर र आम्दानीबीच तालमेल हुनेगरी मात्र कर्जा कारोबार गर्न सचेत गराएको छ । राष्ट्र बैंकले वित्तीय सूचना मार्फत यस्तो जनाएको हो ।
बैंक तथा वित्तीय संस्थाले विभिन्न व्यक्तिलाई लक्षित गरी घर कर्जा, सवारीसाधन कर्जा जस्ता विभिन्न कर्जाहरू प्रस्ताव गरेका हुन्छन् । यस्ता कर्जाको भुक्तानी अवधि निश्चित हुन्छ र ब्याजदर भने परिवर्तनीय वा स्थिर हुनसक्छ ।
स्थिर ब्याजदर तोकिएको अवधिभर परिर्वतन गर्न पाइँदैन भने परिवर्तनीय ब्याजदर आधार दर मा भएको परिवर्तन अनुसार हरेक महिना परिवर्तन हुनसक्छ । तर, प्रिमियम दरमा कुनै परिवर्तन गर्न पाइँदैन ।
नियमित रूपमा निश्चित आम्दानी गर्ने व्यक्तिका लागि स्थिर ब्याजदरले आम्दानी र खर्चबीच तालमेल मिलाउन सहयोग पुग्छ । यसर्थ, ग्राहकहरूले आफूले उपभोग गर्न लागेको कर्जामा कस्तो प्रकारको ब्याजदर लागू हुँदैछ ? प्रिमियम दर कति लागू हुँदैछ ? शुल्कहरू के कस्ता छन् ? भन्ने विषयमा पूर्ण जानकारी लिन अति आवश्यक रहेको राष्ट्र बैंकले जनाएको छ ।
Advertisment