Below Menu
Below Menu

राष्ट्रिय सहकारी बैंकको संयुक्त बैठक भोली बस्दै, अध्यक्ष उप्रेतीको उपस्थित के हुन्छ?

राष्ट्रिय सहकारी बैंकको संयुक्त बैठक भोली बस्दै, अध्यक्ष उप्रेतीको उपस्थित के हुन्छ?

काठमाडौं : राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको संयुक्त बैठक (छलफल) भोली  (चैत्र २८ गते) बस्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले संयुक्त बैठक १२ बजेका लागि बोलाएका छन् ।

समितिको बैठक अध्यक्षले बोलाउने भएपनि अध्यक्ष केबी उप्रेती सम्पर्कमा नआएपछि प्रमुख कार्यकारी अधिकृतले बैठक बोलाएका हुन् ।

बैठकको मुख्य एजेण्डा अध्यक्ष उप्रेतीकै विषयमा रहेको बैंक स्रोतले जनाएको छ । अध्यक्ष उप्रेती करिब २ महिनादेखि सम्पर्कमा छैनन् । तर, बैंकले भने स्वास्थ्यमा समस्या आएका कारण विगत केही समयदेखि भारतमा उपचार गराइरहेको बताउँदै आएको छ । बैंकको आधिकारीक वेभसाईटमार्फत  अध्यक्ष उप्रेतीको स्वास्थ्यमा क्रमश सुधार भइरहेको र थप उपचार गरी छिटै जिम्मेवारीमा फर्कने जानकारी गराएको थियो । तर, उपचार कहाँ भईरहेको छ? के को उपचार? भन्ने विषयमा भने बैंकले जानकारी गराएको छैन ।

स्रोतका अनुसार बैंकका अध्यक्षको बारेमा प्रकाशित समाचारहरु, बैंकमा पर्न सक्ने असरहरु साथै  सरोकारवालाहरूले उठाएका चिन्ताहरू लगायतका घटनाक्रमहरूलाई सम्बोधन गर्नको लागि सञ्चालक समिती र लेखा सुपरिवेक्षण समितीको बैठक डाकिएको हो ।

यस अघि फागुन ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकमा उप्रेती भर्चुअल माध्यमबाट जोडिएका थिए । उक्त बैठकमा स्वास्थ्यमा क्रमश सुधार भइरहेको र थप उपचार गरी छिट्टै जिम्मेवारीमा फर्कने बताएका थिए । 

भोली बस्ने बैठकमा अध्यक्ष उप्रेती स्वंयम् उपस्थित हुने वा भर्चुअल माध्यमबाट जोडिने भन्ने अझै टुंगो लागेको छैन । अध्यक्ष उप्रेतीे उपस्थित नहुँदा पनि संयुक्त बैठक बस्ने आन्तरिक तयारी छ । यदी उपस्थित नहुँदा दुबै समितिबाट छलफल गरी बैठकको अध्यक्षता कसले गर्ने भन्ने टुंगोमा पुर्याईने छ । यदी बैठकको अध्यक्षता कसले गर्ने भन्ने विषयमा विवाद आएमा सामुहिक रुपमा बैठक बस्ने छ ।

स्रोतका अनुसार अध्यक्ष उप्रेती उपचारमा जानु अघि नै कार्यवहाक अध्यक्ष दिने सोंचमा थिए । तर, बैंकको विनियममा कार्यवहाकको जिम्मेवारी दिन मिल्ने व्यवस्था छैन ।

Advertisment

थप समाचार