Below Menu
Below Menu

वाणिज्य बैंकहरुको नाफा १३.४७ प्रतिशतले घट्यो 

वाणिज्य बैंकहरुको नाफा १३.४७ प्रतिशतले घट्यो 

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेको छ । आर्थिक मन्दीको असर बैंक तथा वित्तीय संस्थाको नाफामा संकुचन देखिएको हो ।

गत वर्षको चैत मसान्तसम्म ४७ अर्ब एक करोड ५३ लाख रुपैयाँ नाफा कमाएका बैंकहरुको नाफा चालु आवको यस अवधिमा आइपुग्दा ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँमा खुम्चिएको छ । यस अवधिमा अधिकांश बैंकहरुको नाफा प्रभावित भएको छ । 

चैत मसान्तसम्म आइपुग्दा १३ वाणिज्य बैंकहरुको नाफा घटेको छ भने सात बैंकहरुले नाफा बढाएका छन् । यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले यस अवधिमा ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको हो । तर, उक्त नाफा गत वर्षको तुलनामा भने ८.७६ प्रतिशत कम हो । गत वर्ष बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस अवधिमा कृषि विकास बैंकले सर्वाधिक नाफा बढाएको छ भने नेपाल बैंकको नाफा सबैभन्दा बढी घटेको छ । गत वर्षको सोही अवधिमा एक अर्ब ४ करोड नाफा कमाएको कृषि विकास बैंकले चालु आवको चैत मसान्तसम्म २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन ९७.२२ प्रतिशतले बढी हो ।

त्यसैगरी यस अवधिमा नेपाल बैंकको नाफा ९२.६८ प्रतिशतले घटेको छ । गत वर्ष एक अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको बैंकको नाफा यस अवधिमा आईपुग्दा १३ करोड ५ लाख रुपैयाँमा सिमित भएको हो ।


 

Advertisment