काठमाडौं : नेपाल पूर्वाधार बैंक (निफ्रा) बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले यस अवधिमा ९८ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १५.०२ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब १६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेका कारण नाफा घटेको हो । यसका साथै बैंकको इम्पेरिमेन्ट चार्ज बढेका कारण पनि नाफा प्रभावित भएको हो ।
चैत मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी २.५७ प्रतिशतले घटेर एक अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंकको इम्पेरिमेन्ट चार्ज ६ करोड ५० लाख रुपैयाँबाट बढेर २८ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १.८ रुपैयाँले घटेर ६.०९ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ भने ११०.६५ रुपैयाँ रहेको छ ।
Advertisment