काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले २ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ५४ लाख रुपैयाँ घाटामा रहेको संस्थाले यस अवधिमा आइपुग्दा नाफामा सुधार गरेको हो । समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी बढेसँगै खराब कर्जा पनि घटेका कारण लघुवित्तको खुद नाफा धनात्मक हुन पुगेको हो ।
चैत मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ६७.११ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ४४.९२ प्रतिशत र कुल सञ्चालन आम्दानी ६०.७१ प्रतिशत बढेको छ ।
यस अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ६.८९ प्रतिशतबाट घटेर २.६९ प्रतिशतमा झरेको छ । नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ । गत आवमा ७ रुपैयाँ २२ पैसा ऋणात्मक रहेको लघुवित्तको प्रतिशेयर आम्दानी यस अवधिमा २९ रुपैयाँ ५६ पैसा धनात्मक भएको छ ।
तेस्रो त्रैमाससम्म लघुवित्तको मूल्य आम्दानी अनुपात ७९.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २३ पैसा रहेको छ । १० करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको जगेडा कोषमा ४ करोड ३८ लाख रुपैयाँ सञ्चित छ ।
Advertisment