Below Menu
Below Menu

दश वर्षमा पाँच अर्बको अम्रिसो निर्यात, अनुदानबाट छैन किसानलाई प्रोत्साहन 

दश वर्षमा पाँच अर्बको अम्रिसो निर्यात, अनुदानबाट छैन किसानलाई प्रोत्साहन 

काठमाडौं : नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्येको एक हो, अम्रिसो । नेपालको मध्य तथा पूर्वी पहाडी भेगमा प्रशस्त रूपमा पाइने अम्रिसो निर्यातबाट नेपालले अर्बौँ आम्दानी गरिरहेको छ ।  

पछिल्लो दश वर्षमा नेपालले पौने ५ अर्ब रुपैयाँ बराबरको अम्रिसो निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१/७२ देखि चालु आवको चैत मसान्तसम्म ४ अर्ब ८५ करोड ९४ लाख रुपैयाँ बराबरको १० करोड ८१ लाख केजी बढी अम्रिसो निर्यात गरेको हो ।  

अम्रिसो ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, कास्की लगायत ठाउँहरूका  कृषकहरूको मुख्य आम्दानीको श्रोत मध्ये पर्दछ । अम्रिसोको फुलबाट उत्पादित कुचो देशका विभिन्न सहरका अतिरिक्त भारत, बङ्गलादेश, चीनमा समेत निकासी गरिन्छ ।

यो दश वर्षको अवधिमा भारतमा मात्रै ४ अर्ब ८४ करोड ८४ लाख ६ हजार रुपैयाँको अम्रिसो निर्यात भएको छ । यसका साथै बङ्गलादेशमा एक करोड १० लाख ६ हजार रुपैयाँ र चीनमा एक लाख ७६ हजार रुपैयाँको अम्रिसो निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । 

वैदेशिक व्यापारमा निरन्तर व्यापार घाटा व्यहोर्दै आएको नेपालले अम्रिसो लगायतका केही सीमित वस्तुहरूको निर्यात भने आशा लाग्दो छ । अम्रिसोले मूल्य पाउन थालेपछि यसको व्यावसायिक खेती पनि फस्टाउँदै गएको छ ।  

भारतको पश्चिम बंगाल, गुजरात, राजस्थान, पन्जाब, बेंगलोर, दिल्ली, आन्द्रप्रदेश लगायत मुख्य सहरहरूमा नेपालमा उत्पादित अम्रिसो जाने गरेको छ । अम्रिसोबाट नेपालमै तयारी अवस्थाको कुचो बनाएर ब्रान्डिङ, प्याकेजिङ, मार्केटिङ र लेबलिङ गर्ने हो भने वार्षिक अर्ब रुपैयाँको कुचो निर्यात गर्न सकिने व्यवसायीहरू बताउँछन् ।  

तर, यसका लागि सरकारले पूर्वाधार तयार गर्न आवश्यक रहेको व्यवसायीको भनाई छ । अम्रिसो कुचो निर्यातमा सहजीकरण गरिदिने हो भने खेर गएका आफ्ना डाँडापाखा, कान्लामा अम्रिसो रोपेर लाखौँ कमाउन सकिने व्यवसायीहरू बताउँछन् ।

अम्रिसोको उत्पादन कुचोको लागि मात्र नभई दूधजन्य व्यवसाय र मासु जन्य व्यवसायहरूको लागि घाँसको लागि पनि उपयोगी हुने भएकाले यसको खेती तर्फ किसानहरू लागि रहेका छन् । नेपालमा अम्रिसो खेतीको सम्भावना ठूलो रहेकोले व्यापार घाटा कम गर्न पनि सहयोग पुग्ने व्यवसायीहरूको भनाइ छ । 

अम्रिसोको निर्यात प्रोत्साहनको लागि सरकारले अनुदानको पनि व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको बजेटमार्फत अम्रिसो निर्यातमा अनुदानको व्यवस्था गरिएको हो । निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७५ लाई संशोधन गरी अम्रिसो लगायत ९ वस्तुलाई अनुदान पाउने व्यवस्था गरेको छ । 

सरकारले गरेको अनुदानको व्यवस्थाबाट भने किसानहरूलाई राहत मिलेको छैन । सरकारले भारत बाहेक तेस्रो मुलुकमा निर्यात गरेमा मात्रै अम्रिसोमा अनुदान दिने भनेको छ । तर, नेपालबाट धेरैजसो अम्रिसो निर्यात भारतमा नै हुने गरेको छ । यसले गर्दा सरकारले गरेको अनुदानको व्यवस्थाबाट किसानलाई राहत नमिलेको उनीहरूले गुनासो गरेका छन् । 


 

Advertisment

थप समाचार