काठमाडौं : माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले २२ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलानमा १२.३२ प्रतिशतले धेरै हो । गत आवको नौं महिनासम्ममा कम्पनीले १९ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा वित्तीय खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको बिक्री आम्दानी भने घटेको छ ।
गत वर्षको सोही अवधिमा विद्युत बिक्रीमार्फत ५९ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी चैत मसान्तसम्म आइपुग्दा ५८ करोड २० लाख रुपैयाँमा सिमित भएको छ । जुन २.७६ प्रतिशतले कम हो ।
यस अवधिमा कम्पनीको कुल आम्दानी २.८३ प्रतिशत र सञ्चालन मुनाफा ४.४१ प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २३.८४ प्रतिशत घटेको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी भने २५ पैसा घटेर २१ रुपैयाँ ६६ पैसामा सीमित भएको छ । त्यस्तै यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ३५.५४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ५३ पैसा रहेको छ।
चैत मसान्तसम्म एक अर्ब ३६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५९ करोड ३५ लाख रुपैयाँ सञ्चित छ ।
Advertisment