Below Menu
Below Menu

आजदेखि लागु हुने गरी वाणिज्य बैंकहरुले फेरी घटाए ब्याजदर  

आजदेखि लागु हुने गरी वाणिज्य बैंकहरुले फेरी घटाए ब्याजदर  

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बैंशाख महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ । 

बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत बैशाख महिनाको तुलनामा १० बैंकहरुले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् । त्यस्तै सात बैंकले बैशाख महिना कै ब्याजदरलाई कायम गरेका छन् भने तीन बैंकहरुले ब्याजदर बढाएका छन् ।

जेठ महिनाका लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ७.०६ प्रतिशत रहेको छ । बैशाखमा यस्तो ब्याजदर ७.१४ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.०७ बिन्दुले घटेको छ । 

त्यस्तै संस्थागतर्फ बैशाखका लागि बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ५.८९ प्रतिशत विन्दुमा झरेको छ । बैशाख यस्तो ब्याजदर ५.९६ प्रतिशत रहेको थियो । यस अवधिमा बैंकहरुको अधिकतम औषत ब्याजदर ०.०७ प्रतिशत विन्दुले घटेको हो । 

जेठ महिनाका लागि ग्लोबल आईएमई, प्रभु बैंक र एनआईसी एशिया बैंकले ब्याजदर बढाएका छन् । ग्लोबल आईएमई बैंक र प्रभु बैंकले जेठमा ७.५ प्रतिशत र एनआईसी एशियाले ७.७५ प्रतिशत ब्याज दिने भएको छ । 

एनएमबि बैंक र एनआईसी एशिया बैंकले जेठमा सबैभन्दा बढी ब्याज दिने भएको छ । यी दुई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ७.८ प्रतितशले ब्याज दिने भएका छन् । 

जेठका लागि नेपाल बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्र्ड चार्टर्ड, कुमारी बैंक र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकले निक्षेपको ब्याजदर यथावत राख्ने भएका छन् ।

नेपाल एसबीआई बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याज दिने भएको छ । सो बैंकले अधिकतममा ६.३९प्रतिशतका दरले ब्याज दिने भएको हो ।

यसका साथै ब्याजदर घटाएका अन्य बैंकहरुले जेठका लागि नबिल बैंकले ६.७६ प्रतिशत, सिद्धार्थले ७ प्रतिशत, प्राइम कमर्सियलले ७ प्रतिशत, सानिमाले ६.९ प्रतिशत, एभरेष्टले ६.५ प्रतिशत, सिटिजनले ७ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ६.४ प्रतिशत ब्याजद दिने भएका छन् । 

Advertisment

थप समाचार