Below Menu
Below Menu

मुक्तिनाथ विकास बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा शोक सभा

मुक्तिनाथ विकास बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा शोक सभा

काठमाडौं : मुक्तिनाथ विकास बैंकको संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौमा मिति २०८१ साल जेठ १ गते शोक सभा कार्यक्रम सम्पन्न भएको छ ।

उक्त शोक सभामा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरुको साथै, केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा एक मिनेट मौन धारण गर्नुको साथै उनले बैंक स्थापना तथा वृद्धिको लागि गरेको योगदानको चर्चा गरिएको थियो ।

विभिन्न व्यवधानहरु र चुनौतीहरुको सामना गर्दै स्याङ्गजा जिल्लामा स्थानीय व्यक्तिहरुलाई समेटेर बैंक सञ्चालनमा ल्याउनु, जनविश्वास आर्जन गर्नु र फरक शैली तथा सेवाहरु सहित बैंकको व्यवसायलाई विस्तार गर्नु आफैमा कठिन काम थियो । तथापी, सञ्चालक समितिमा उनको कुशल नेतृत्वले बैंकलाई नयाँ उचाईमा लैजान सफल भएका थिए ।

संस्थापक अध्यक्ष रेग्मीको २०८१ जेठ १ गते मंगलबार बिहान ५ बजे आफ्नै निवास, स्याङ्गजामा निधन भएको छ । 

उनी लामो समयदेखि बिरामी भई उपचाररत थिए । वि.सं.२००६ साल साउन १५ गते भिरकोट नगरपालिका वडा नं.–७, (साविक खिलुङ गा.वि.स.वडा नं.–२) स्याङ्गजामा पिता देविप्रसाद रेग्मी र माता नोमा कुमारी रेग्मीको कोखबाट जन्मिएका उनी करिव २३ वर्ष शिक्षण पेशामा बिताएको साथै समाज सेवामा पनि सक्रिय थिए ।

उनी स्याङ्गजाको शैक्षिक, सामाजिक तथा आर्थिक विकासमा अतुलनीय योगदान दिने ब्यक्तिको रुपमा चिनिन्छन् । आफ्नो जीवनको सम्पूर्ण समय समाज र जनताको हकहितमा बिताउनु भएका उनी स्वच्छ छबी भएका सामाजिक ब्यक्तिको रुपमा लोकप्रिय थिए । उनको मंगलबार  साँझ स्याङ्गजाको राम्दीमा हिन्दु परम्परा अनुसार अन्त्येष्टी भएको छ । 

यस दुःखद घडिमा मुक्तिनाथ विकास बैंक परिवारले संस्थापक अध्यक्ष स्वर्गीय रेग्मी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त सम्पूर्ण परिवारजन तथा आफन्तहरुमा गहिरो समवेदना व्यक्त गरेको छ  । 
 

Advertisment

थप समाचार