काठमाडौं : चालु आर्थिक वर्षको नौं महिनामा वाणिज्य बैंकहरुले ४० अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार गत साउनदेखि चैतसम्म बैंकहरुले ४० अर्ब ६८ करोड तीन लाख रुपैयाँ नाफा कमाएका हुन् ।
उक्त नाफा गत फागुन मसान्तको तुलनामा एक अर्ब ६२ करोड रुपैयाँले कम हो । गत फागुनसम्म बैंकले ४२ अर्ब ३० करोड ७ लाख रुपैयाँ नाफा कमाएका थिए । एक महिनामा बैंकहरुको नाफा ३.८३ प्रतिशत अर्थात एक अर्ब ६२ करोड ४ लाख रुपैयाँले घटेको हो ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले यस अवधिमा साढे चार अर्ब बढी नाफा कमाएको हो । चैत मसान्तसम्म बैंकको नाफा चार अर्ब ६६ करोड ८० लाख रुपैयाँ रहेको छ ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकले तीन अर्ब ३० करोड ६५ लाख, प्राइम बैंकले २ अर्ब ८७ करोड ८७ लाख र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तीन अर्ब २७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
राष्ट्र बैंकमा अनुसार चैत मसान्तसम्म एनआईसी एसिया बैंकले एक अर्ब ९१ करोड ४८ लाख, एभरेस्ट बैंकले दुई अर्ब ६० करोड ८४ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४४ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको तथ्यांकमा उल्लेख छ ।
यस अवधिमा एनएमबि बैंकले दुई अर्ब २४ करोड १६ लाख रुपैयाँ, कृषि विकास बैंकले दुई अर्ब ५ करोड ५३ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ र सिद्धार्थ बैंकले १ अर्ब ६८ करोड ४० लाख रुपैयाँ नाफा कमाएका छन् ।
राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म लक्ष्मी सनराइज बैंकले १ अर्ब ६१ करोड ४० लाख, सानिमा बैंकले १ अर्ब ४३ करोड ९४ लाख रुपैयाँ र कुमारी बैंकले एक अर्ब ५ करोड २७ लाख नाफा कमाएका छन् ।
यस अवधिमा सिटिजन्स बैंकले एक अर्ब २१ करोड १४ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले ८५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी यस अवधिमा सरकारी बैंक नेपाल बैंकले १३ करोड ५ लाख रुपैयाँ, प्रभु बैंकले एक अर्ब ८१ करोड २४ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले एक अर्ब आठ लाख रुपैयाँ नाफा कमाएका छन् ।
Advertisment