तुलसीपुर : दाङ तुलसीपुर उपमहानगरपालिका–१२ डोक्रेनामा १० बिघा जग्गामा बक्सिङ खेलाडी राजु थापाले व्यावसायिक तरकारीखेती गरेका छन् । दिउँसो र साँझ जागिर र होटेलतिर व्यस्त भए पनि बिहानको समय तरकारीखेतीलाई दिने गरेको उनी बताउँछन् ।
“म बक्सिङ प्रशिक्षक हुँ, दिउँसो जागिरतिर जान्छु”, उनले भने, “साँझ होटेलतिर पनि हुर्नुपर्छ, बिहान र कहिलेकाहीँ साँझ मात्रै तरकारीलाई समय दिएको छु ।”
कोरोना महामारीको सुरुआतमा भएको ‘लकडाउन’का बेलादेखि उनले व्यावसायिक तरकारीखेती सुरु गरेका छन् । सुरुमा पाँच जनाले संयुक्त तरकारीखेती गरेको भए पनि पछिल्लो दुई वर्षयता राजु एक्लैले उक्त तरकारीखेती गरेका छन् । उनले करेला, बोडी, काँक्रा, लौका, फर्सीलगायतका खेती गरेका छन् ।
डेढ बिघा क्षेत्रफलमा बोडी, डेढ बिघा क्षेत्रफलमा काँक्रा, १५ कट्ठा क्षेत्रफलमा लौका, एक बिघामा करेला, दुई बिघा जतिमा टमाटर तथा १५ कट्ठामा स्पाइस खेती गरेको राजु बताउँछन् । तरकारी खेतीमा उहाँले ४५ जनालाई रोजगारीसमेत दिएका छन् । दश जना मासिक तलब दिएर कामदार राखेका छन् ।
उनीहरुलाई मासिक रु २५ हजारसम्म तलब छ, भने बाँकीलाई ज्यालादारीमा रोजगार दिइएको राजुले बताए । उनका अनुसार ज्यालादारीलाई दैनिक पाँचसयका दरले दिने गरेको उनले बताए । रोजगार पाएका सबै गाउँकै हुन् । गाउँमै रोजगारी पाउँदा स्थानीय पनि खुसी भएका छन् । “गाउँमै रोजगारी पायौँ, पहिले लेबर गर्न बजार जानुपथ्र्यो”, ज्यालादारीमा काम गरिरहेकी शर्मिला चौधरीले भने, “तर, अहिले गाउँमै रोजगारी पाएका छौँ ।”
त्यहाँ उनले दुई याममा तरकारीखेती गर्दै आएका छन् । हिउँदे र वर्षे तरकारीखेती गर्दै आएका उनले एक सिजनमा रु २० लाखदेखि बढी आम्दानी गर्दै र्आएका छन् । “एक कुनै समय बजारले भाउ नपाउने, नियमित बर्सात हुँदा तरकारी क्षति हुने गरेको अवस्था पनि छ”, उनले भने, “त्योबाहेक राम्रो हुँदै गएमा एक सिजनमा रु २० लाखभन्दा बढी पनि आम्दानी हुने गर्छ ।”
एक याममा रु ४५ लाख खर्च आउने गरेकोसमेत उनले बताए । वर्षमा दुई सिजन खेती हुँदा वार्षिक रु एक करोड खर्च हुने र त्यो खर्च कटाएर रु ५० लाखको हाराहारीमा आम्दानी हुने गरेको उनको भनाइ छ । तरकारीले वैशाख १५ गतेसम्म राम्रो मूल्य पाउने गरेको भएपनि त्योभन्दा पछि भने विस्तारै मूल्य घट्दै जाने गरेको उी बताउँछन् ।
“बजार भाउमा सरकारले अलि कति ख्याल गरिदिए हुन्थ्यो, सबैतिर मूल्यमा एकरुपता भएमा सहज हुन्थ्यो”, उनले भने, “तीन दिनअघि मात्रै होलसेलमा रु ७० किलो बिक्री हुने गरेको बोडी हिजोआज मात्रै रु ३० मा बिक्री गर्नुपरेको छ”, उनले भने, “टमाटर रु ३० थियो, एक्कासि रु २० भयो ।” दिनप्रतिदिन यसरी तरकारीको मूल्य एक्कासि घट्दै गइरहेको उनको भनाइ छ ।
उत्पादित तरकारी दाङको बजारमा मात्रै होइन, बाहिरी जिल्लामा समेत निर्यात हुने गरेको छ । सुर्खेत, धनगढीलगायतका बजारमा तरकारी निर्यात हुने गरेको थापाले बताए । दश बिघा जग्गालाई वार्षिक रु पाँच लाख तिरेर भाडामा लिइएको प्रशिक्षक थापाको भनाइ छ ।
तरकारीखेतीबाट आम्दानी राम्रै लिन सकिने भए पनि यसमा सरकारले थप सहजता भने बनाउनुपर्ने उनको माग छ । “समयमा मल पाइँदैन, मल महँगोमा किनेर ल्याउनु पर्छ”, उनले भने, “मूल्यमा पनि एकरुपता ल्याइदिए सहज हुन्थ्यो ।”
उनी लामो समय बक्सिङ खेलाडीका रुपमा पनि रहे । २०४८ देखि ०५४ सम्म बक्सिङ खेलाडीका रुपमा रहेका उनी तीनवटा राष्ट्रिय खेल पनि खेले । अहिले प्रशिक्षकका रुपमा रहेका उनले उत्पादन गरेका चेला अन्तर्राष्ट्रिय खेलका लागिसमेत छनोट भएका थिए ।
तर, उनले लकडाउनले गर्दा त्यो खेल खेल्न जान पाएन । उनी ४९ औँ खाद्य दिवसका अवसरमा लुम्बिनी प्रदेशबाट सम्मानितसमेत भएका छन् । तरकारी विधामा उनी सम्मानित भएका छन् । उनी तुलसीपुर–४ वनहरी निवासी हुन् ।
Advertisment