काठमाडौं : भुक्तानी प्रणाली सञ्चालकको रुपमा काम गर्दै आएका नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) ले सोमबार (आज) देखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै संस्थाबीच प्राप्तिका लगि गत चैत २२ गते अन्तिम सम्झौता भएको थियो ।
त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर दुवै संस्थाले सोमबार देखि एकीकृत कारोबार गर्न लागेका हुन् । नेपाल राष्ट्र बैंकले एक्विजिसनका लागि स्वीकृति दिएसँगै एनसीएचएलले नेप्सलाई प्राप्ती गरेर नेपाल क्लियरिङ हाउस लिमिटेडको नामबाटनै एकीकृत कारोबार गर्न लागेको हो ।
सम्भवत नेपालमा भुक्तानी प्रणाली सञ्चालक कम्पनीहरु मर्ज भएको यो पहिलो हो । त्यसमा पनि निजी र सरकारी स्वामित्वको कम्पनी मर्ज भएर एकीकृत कारोबार गर्न लागिएको छ । यी दुबै संस्थाले भुक्तानी प्रणाली सञ्चालकको रुपमा काम गर्दै आएका छन् । एनसीएचएल नेपाल राष्ट्र बैंकको स्वामित्वमा स्थापना भएको संस्था हो । नेप्स भने निजी क्षेत्रका केही वाणिज्य बैंकहरुले स्थापना गरेको संस्था हो ।
सरकार र निजी क्षेत्रका यी दुवै भुक्तानी प्रणाली सञ्चालक संस्थाबीच गत पुसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । एनसीएचएलले बिशेषगरी विद्युतीय भुक्तानी प्रणालीका लागि आवश्यक पूर्वाधार (सफ्टवेयर लगायत) सञ्चालन गर्दै आएको छ ।
अधिकांश बैंक तथा वित्तिय संस्थाहरु सोही पूर्वाधार आवद्ध भएर आफ्नो डिजीटल भुक्तानीको उपकरण सञ्चालन गर्दै आएका छन् । एनसीएचएल आफैले पनि कनेक्ट आईपीएस नामक डिजीटल भुक्तानीको उपकरण सञ्चालन गर्दै आएको छ ।
यता नेप्सले भने बिभिन्न बैंकको एटीएम कार्ड कारोबारका लागि स्वीच पूर्वाधार सञ्चालन गर्दै आएको छ । यी दुवै संस्था मर्ज हुदाँ डिजिटल भुक्तानी प्रणालीको सञ्चालन र विकासमा नयाँ आयम आउने अपेक्षा गरिएको छ ।
Advertisment