काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन तीन अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत आइतबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले दुई अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
गत आइतबार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन तीन अर्बले बढेर ६२ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् जेठ २० गते आइतबारसम्म बैंक तथा वित्तीय संस्थामा ६२ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा मात्रै एकै दिन ३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने अन्य वित्तीय क्षेत्रमा ७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिनसम्म ५५ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा सो दिन ३ अर्ब निक्षेप बढेर ५५ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिदै गएपनि कर्जा लगानी भने सुस्त देखिएको छ । सो अवधिमा बैंकिङ प्रणालीमा तीन अर्ब निक्षेप थपिदा दुई अर्ब मात्रै कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५१ खर्ब २४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४५ खर्ब ३१ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ५ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर बढेको छ भने सिडि रेसियो घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर ३ प्रतिशत रहेको छ भने सिडि रेसियो ८०.०९ बिन्दुमा झरेको छ
Advertisment