काठमाडौं : नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले लण्डनमा १० जुन देखि १४ जुन सम्म आयोजना हुने लण्डन टेक विक २०२४ मा आफ्नो सहभागिता घोषणा गरेको छ। लण्डन टेक विक ग्लोबल प्रविधिको वार्षिक महाप्रदर्शनी हो।
यस वर्षको संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो हुनेछ, जसमा ४५ हजार भन्दा बढी सहभागीहरू, १ हजार लगानीकर्ता, र ५ हजार स्टार्टअपहरू भेला हुनेछ। यस हप्ता भरि ७० भन्दा बढी कार्यक्रमहरूमार्फत ३५० वक्ताहरूले अत्याधुनिक प्रविधिहरू, उद्योग दृष्टिकोण ईत्यादीहरूमा प्रस्तुति दिने छन्। लण्डन टेक विकले व्यवसायहरूलाई सहकार्य गर्न र प्रविधिको भविष्य परिकल्पना गर्नका लागि अद्वितीय प्लेटफर्म प्रदान गर्दछ।
नास आईटीको सहभागिता नेपाल सरकारको १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्ने, ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष गरी १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य प्राप्तितर्फको कदम हो।
नेपालका उत्कृष्ट र नवीन प्रविधि प्रतिनिधित्व गर्ने नास आईटीका १४ सदस्य कम्पनीहरूले यस कार्यक्रममा भाग लिदै छन्। यस प्रतिनिधिमण्डलले नेपालको आईटी क्षेत्र प्रवर्द्धन गर्न सम्भावित लगानीकर्ता, साझेदार, र सहयोगीहरूसँग अन्तरक्रिया गर्नेछ।
यस प्रतिनिधिमण्डलमा अम्निल टेक्नोलोजी प्रालि, ई.के सोलुसन्स, इमिनेंस वेज, जेनेस सोलुसन, इन्ग्रेल्स, जास्पर आईटी, नियो सफ्टवेयर, क्विकफक्स कन्सल्टिङ, क्विकफक्स टेक्नोलोजी, रारा ल्याब्स, टेकक्राफ्ट इंक, त्रिलोक्य टेक्नोलोजी, येलो नेपाल र यङ इनोभेसन्स प्रालि छन्।
यी कम्पनीहरूले एआई, ई–कमर्स विकास, हेल्थ केयर आईटी, फिनकेट, आरपीए, कस्टम सफ्टवेयर डेभलपमेन्ट, डेभओपीएस र साइबर सेक्युरिटी जस्ता विभिन्न प्रकारका विशेषज्ञताहरू प्रदर्शन गर्नेछ।
लण्डन टेक विकमा भाग लिएर नास आईटीले ग्लोबल प्लेटफर्ममा नेपाली प्रविधि प्रतिभा र नवाचारको प्रवर्द्धन गर्ने, नेपाली प्रविधि कम्पनीहरूको लागि विदेशी लगानी आकर्षित गर्ने, रणनीतिक साझेदारीहरू गठन गर्ने, नेपाली र अन्तर्राष्ट्रिय प्रविधि कम्पनी र प्रतिनिधिहरू बीच साझेदारी र सहयोगको सुविधा प्रदान गर्ने लक्ष्यहरू राखेको छ ।
लण्डन टेक विकले नेपालको आईटी क्षेत्रको वृद्धिलाई तीव्र बनाउन र देशको आर्थिक प्रगतिको लागि योगदान पुर्याउन महत्वपूर्ण अवसर प्रदान गर्दछ। नास आईटीको लण्डन टेक विक २०२४ मा सहभागिता नास आईटी र नेपालको प्रविधि उद्योगको लागि एक ऐतिहासिक क्षण हो।
Advertisment