Below Menu
Below Menu

सहुलियतपूर्ण कर्जाको दुरुपयोगमा संलग्न बैंकका कर्मचारीलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

सहुलियतपूर्ण कर्जाको दुरुपयोगमा संलग्न बैंकका कर्मचारीलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं : नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको दुरुपयोगमा संलग्न भएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत लक्षित वर्गमा प्रवाह हुँदै आएको सहुलियतपूर्ण कर्जाको दुरुपयोग भएको भन्दै कारबाही गर्ने चेतावनी दिएको हो । 

सरकारले लागू गरेको सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार विभिन्न १० शीर्षकमा बैंक तथा वित्तीय संस्थामार्फत लक्षित वर्गमा सहुलियतपूर्ण कर्जा प्रवाह हुँदै आएको छ । 

उपर्युक्त कार्यविधिबमोजिम सहुलियतपूर्ण कर्जा प्रदान गर्न विभिन्न सर्त तथा मापदण्ड तोकिएको छ । गत चैत मसान्तमा १ लाख २७ हजार २१२ जना ऋणीले १ खर्ब ४० अर्ब ५० करोड बराबरको सहुलियतपूर्ण कर्जा उपभोग गरिरहेको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकद्वारा जारी सूचनमा भनिएको छ, ‘यस प्रकारका सहुलियतपूर्ण कर्जा साथै पुनरकर्जा र व्यावसायिक निरन्तरता कर्जाको प्रभावकारिता तथा उपयोगको निर्क्योल गर्न स्वतन्त्र परामर्शदाताबाट अध्ययन गराइएकोमा ३१ हजार ६७४ ऋणीको फाइल अध्ययन गरी परामर्शदाताबाट प्राप्त प्रतिवेदनमा करिब ७ प्रतिशत कर्जा सदुपयोग नभएको तथ्याङ्क पेस हुन आएको छ ।’

यसरी सदुपयोग नभएका कर्जाको सम्बन्धित बैंक तथा वित्तीय संस्थामार्फत यकिन गराई ब्याज अनुदान तथा सुविधा फिर्ता गराउने एवम् यस्तो कार्यमा प्रत्यक्ष रूपमा संलग्न भएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सम्बन्धित संस्थाबाट विभागीय कारबाही गर्नेलगायतका कारबाहीको प्रक्रिया अगाडि बढाउने राष्ट्र बैंकले जनाएको छ । 

सो प्रतिवेदन र निर्णय कार्यान्वयनका लागि सम्बन्धित सुपरिवेक्षण विभागमार्फत आवश्यक प्रक्रिया अघि बढाइ सकिएको राष्ट्र बैंकले भनेको छ । विभिन्न निकायबाट प्राप्त हुने अनुदान एवम् सुविधा जिम्मेवारपूर्ण रुपमा अनुशासित भई उपयोग गर्न राष्ट्र बैंकले सचेत गराएको छ । 


 

Advertisment

थप समाचार