Below Menu
Below Menu

किसानलाई मलको अभाव हुँदैनः कृषिमन्त्री साह

किसानलाई मलको अभाव हुँदैनः कृषिमन्त्री साह

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानलाई मलको अभाव नहुने दाबी गरेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत कृषि तथा पशुपन्छीसम्बन्धी विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै उनले धान रोपाइमा किसानलाई मल अभाव नहुने र किसानलाई समयमै मल वितरण गर्न मन्त्रालय लागेको बताइन् ।

उनका अनुसार चालु आर्थिक वर्षको रु २८ अर्ब ६७ करोड अनुदानका लागि विनियोजित बजेटबाट रु छ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा पाउन सकिने भएकोछ । साथै दुई लाख मेट्रिकटन मलको बोलपत्र आह्वान भइसकेको उनले जानकारी दिइन् ।

गत जेठ २८ सम्म तीन लाख ९० हजार मेट्रिक टन मल आयात भएकोमा तीन लाख ६७ हजार मेट्रिक टन मल बिक्री वितरण भएको छ । गत वर्षको समेत गरी कूल ९६ हजार मेट्रिक टन मल मौज्दात रहेको उनले जानकारी दिइन् ।

दुग्ध किसानको भुक्तानीमा ३० करोड ऋण सकियो

सोही अवसरमा मन्त्री साहले दुग्ध किसानलाई भुक्तानी गर्न रु ३० करोड लिएको ऋण सकिएको जानकारी दिँदै थप भुक्तानीका लागि ऋण लिन दुग्ध विकास संस्थानलाई निर्देशन दिएको बताइन् ।

“मन्त्रालयले रु ३० करोड लिइ किसानको भुक्तानी गरिसकेको अवस्था छ”, मन्त्री साहले भनिन्, “बाँकी भुक्तानीका लागि थप ऋण लिन संस्थानलाई निर्देशन दिएको छु ।”

उनका अनुसार सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले दैनिक एक लाख ५० हजार लिटरसम्म दुध सङ्कलन गरिरहेको र बाँकी दुध निजी दुग्ध उद्योगहरुले सङ्कलन गरिरहेका छन् । दुध खरिद गरेपछि प्रत्येक  दिनमा किसानलाई भुक्तानी गर्दै आइरहेको उनको भनाइ छ ।

Advertisment