कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ३.३९ प्रतिशत रहने अनुमान, यस्तो छ आर्थिक स्थिति 

कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ३.३९ प्रतिशत रहने अनुमान, यस्तो छ आर्थिक स्थिति 

काठमाडौं : कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ३.३९ प्रतिशत रहने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो । 

राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा ३.८७ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ भने आधारभूत मूल्यमा ३.५४ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

त्यसैगरी, गत आवमा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा र आधारभूत मूल्यमा क्रमशः १.९५ प्रतिशत र २.३१ प्रतिशतले वृद्धि हुने संशोधित अनुमान रहेको छ ।

चालु आवमा प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्यमा) ३.३९ प्रतिशत रहने अनुमान छ । गत वर्ष यस्तो वृद्धिदर १.९६ प्रतिशत रहने संशोधित अनुमान रहेकोछ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको योगदान ४.२८ प्रतिशत रहने अनुमान छ ।

आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन प्रचलित मूल्यमा रु.२ खर्ब ४४ अर्ब पुग्ने अनुमान छ । गत अवधिको तुलनामा प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ०.१८ प्रतिशतले घटेकोछ ।

प्रमुख बालीहरु मध्ये समीक्षा अवधिमा धान र मकै बालीले ढाकेको क्षेत्रफलमा क्रमशः ८.४८ प्रतिशत र २.१२ प्रतिशतले वृद्धि भएको छ भने गहुँ, कोदो, जौ र फापर बालीले ढाकेको क्षेत्रफलमा क्रमशः १.०२ प्रतिशत, २८.१६ प्रतिशत र ३३.३० र २३.०१ प्रतिशतलेकमी आएकोछ ।

त्यस्तै, दलहन बालीले ढाकेको क्षेत्रफलमा १.२७ प्रतिशतले कमी आएको छ भने तेलहन बालीले ढाकेकोक्षेत्रफल ७८.१८ प्रतिशतले र भटमास बालीले ढाकेको क्षेत्रफल ९.४९ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा कर्णाली प्रदेशमा तरकारी बालीले ढाकेको क्षेत्रफलमा १२.६९ प्रतिशतले कमी आएको छ भने बागवानी बालीले ढाकेको क्षेत्रफलमा ३.९९ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । 

समीक्षा अवधिमा प्रदेशमा समग्र कृषि बालीको उत्पादनमा ३.५६ प्रतिशतले कमी आई ११ लाख ५१ हजार १४५ दशमलव ६१ मेट्रिक टन कायम भएको छ । खाद्य तथा अन्य बालीभित्र पर्ने प्रमुख कृषि बालीमा धान र गहुँको उत्पादन क्रमशः १२.०४ प्रतिशत र ०.४३ प्रतिशतले वृद्धि भएको छ भने मकै, कोदो, जौ तथा फापरको उत्पादनमा क्रमशः ७.६१ प्रतिशत, १९.८७ प्रतिशत, १८.९८ प्रतिशत र ८.४६ प्रतिशतलेकमी आएको छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा प्रदेशमा दुध उत्पादन ७.२३ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै मासु र माछा उत्पादन क्रमशः १०.१२ प्रतिशत र १४.६२ प्रतिशतले वृद्धि भएको छ भने अण्डा उत्पादनमा १५.० प्रतिशतले कमी आएको छ । 

बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको ९.५६ प्रतिशत हिस्सा ओगटेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा गत अवधिको तुलनामा १७.५७ प्रतिशतले घटेको छ ।

प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ५४.२३ प्रतिशत रहेको छ । कागज तथा कागजका उत्पादन सम्बन्धी उद्योगको उपयोग क्षमता सबैभन्दा बढी ९६.१५ प्रतिशत रहेको छ भने दुग्ध पदार्थ उत्पादन गर्ने उद्योगको उपयोग क्षमता सबैभन्दा कम २५.७१ प्रतिशत रहेको छ । 

समीक्षा अवधिमा औद्योगिक कर्जा गत अवधिको तुलनामा ३७.५५ प्रतिशतलेघटेको छ । कर्णाली प्रदेशमा प्रवाह भएको समग्र कर्जाको ६.९८ प्रतिशत हिस्सा उद्योग क्षेत्रले ओगटेको छ । 

यस अवधिमा यस प्रदेशमा भित्रिने पर्यटकको संख्यामा १८.६७ प्रतिशतले वृद्धि भएको छ । भारत, चीन र तेस्रो मुलुकबाट भित्रिने पर्यटकको संख्या क्रमशः २७.१८ प्रतिशत, ६.१४ प्रतिशत र १.०५ प्रतिशतले वृद्धि भएको छ ।

उक्त प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरुद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८३.४६ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ । वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ४६६ पुगेको छ भने शाखारहित बैङ्किङ संख्या ३० पुगेको छ । कर्जा तथा निक्षेप अनुपात ७१.६९ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा ३३ के.भि.को विद्युत्प्रसारण लाईन ४९६ कि.मि पुगेको छ भने ११ के.भि.को विद्युत्प्रसारण लाईन ३,१२१ कि.मि पुगेको छ । गत अवधिमा ११ के.भि.को विद्युत् प्रसारण लाईन ३,१०८ कि.मि. पुगेको थियो । 

यस अवधिमा प्रदेशमा १८.५४ मेगावाट विद्युत् उत्पादन भएको छ भने१७ वटा आयोजनाहरु निर्माणाधीन र ९ वटा आयोजनाहरु निर्माण अनुमतिका लागि निवेदन दिएको देखिन्छ । यस प्रदेशको सुर्खेत, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम र कालिकोट गरी ७ जिल्लामा ८ वटा विमानस्थल सञ्चालनमा छन्।
 

थप समाचार