काठमाडौं : नेपाल धितोपत्र बोर्डले करिब ६ महिनापछि हकप्रद शेयर निष्कासनको बाटो खुला गरेको छ । कम्पनीले असार ७ गते शुक्रबार हिमालय उर्जा विकास कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद बिक्रीका लागि अनुमति दिएको हो ।
बोर्डको अनुमति पाएसँगै कम्पनीले १ बराबर १ को अनुपातमा ९९ लाख १ कित्ता हकप्रद जारी गर्नेछ । यससँगै बोर्डले हकप्रद जारी गर्न प्रक्रिया पुरा गरेर पाइपलाइनमा बसेका अरु कम्पनीहरुले पनि क्रमशः शेयर निष्कासनका लागि अनुमति पाउने भएका छन् । सेबोनका अनुसार हकप्रद जारी गर्न १२ कम्पनी पाइपलाइनमा रहेका छन् ।
हालसम्म १२ वटा कम्पनीले कुल १० अर्ब ३७ करोड ४५ लाख २८ हजार रुपैयाँ बराबरको हकप्रद बिक्रीका लागि अनुमति मागेका छन् । जसमध्ये सबैधन्दा बढी हाइड्रोपावर र अरु बीमा कम्पनी रहेका छन् ।
बोर्डका अनुसार आठ हाइड्रोपावर कम्पनी २ वटा जीवन बीमा र २ वटा निर्जीवन बीमा कम्पनीहरु रहेका छन् । हाइड्रोपावर कम्पनीहरुले कर्जा तिर्न वा अन्य आयोजनमा लगानी गर्न पुँजी संकलनका लागि हकप्रद जारी गर्ने लागेका छन् भने बीमा कम्पनीहरुले प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउनलाई हकप्रद बिक्री गर्न लागेका हुन ।
हकप्रदका लागि अनुमति पाएसँगै अब प्राथमिक शेयर (आइपीओ ) निष्कासनका लागि पनि कम्पनीहरुले पनि अनुमति पाउने देखिन्छ । गत पुसदेखि बोर्डका अध्यक्ष हमालको बहिरगमनसँगै पाँच महिनादेखि धितोपत्र बोर्डको दैनिक कार्य सञ्चालन प्रभावित बन्दै आएको छ ।
नेतृत्वको अभावमा बोर्डमार्फत हुने दैनिक कामकाज शेयर निष्काशन स्वीकृतिका साथसाथै नीतिगत व्यवस्थाहरुमा समेत काम गर्न सकस भइरहेको छ । पूँजी बजारको नियामक निकाय (सेबान) ले अध्यक्ष नभएको बहानामा प्राथमिक निष्कासन, थप प्राथमिक निष्कासन, ऋणपत्र, हकप्रदलगायत धितोपत्रको अनुमति प्रक्रिया रोकेको थियो ।
अनुमति रोकेसँगै हालसम्म बोर्डमा शेयर निष्कासनका लागि आवेदन दिएका कम्पनीको कारोबार नै प्रभावित भएको छ । शेयर निष्कासनको अनुमति नपाउँदा विभिन्न व्यवसाय तथा आयोजनामा आवश्यक पुँजी जुटाउन समेत कम्पनीहरुलाई समस्या भएको छ ।

Advertisment