Below Menu
Below Menu

सरकारी खातामा १५८ अर्ब नगद मौज्दात, क्यास सर्कुलेशन साढे ४१ अर्बले बढ्यो

सरकारी खातामा १५८ अर्ब नगद मौज्दात, क्यास सर्कुलेशन साढे ४१ अर्बले बढ्यो

काठमाडौं : एक महिनामा सरकारी खातामा साढे ५२ अर्ब रुपैयाँ नगद मौज्दात थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको बैशाख महिनाको तुलनामा जेठमा उक्त रकम ५२ अर्ब ६० करोड रुपैयाँले बढेको हो ।

गत बैशाखमा सरकारी खातामा एक खर्ब ५ अर्ब ६० करोड रुपैयाँ नगद मौज्दात रहेको थियो । जेठमा उक्त निक्षेप बढेर एक खर्ब ५८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । यो रकम सरकारले खर्च गरेर बाँकी रहेको रकम हो ।

उक्त रकम बैशाख महिनाको तुलनामा ४९.८१ प्रतिशतले बढेको हो । गत असार मसान्तसम्म ६० अर्ब रुपैयाँ रहेको यस्तो मौज्दात चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा ९८ अर्ब २० करोड अर्ब रुपैयाँले बढेको छ । 

यस अवधिमा सरकारी ढुकुटीमा २ खर्ब २१ अर्ब बढी निक्षेप रहेको जनाएको छ । यस अवधिमा विभिन्न बैंकहरुमा रहेको सरकारी खातामा कूल २ खर्ब २१ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ निक्षेप रहेको बैंकले राष्ट्र बैंकले जनाएको हो । 

२०८० असारसम्म यस्तो निक्षेप जम्मा ४५ अर्ब ८ करोड ९४ लाख रुपैयाँ मात्र रहेको थियो । उक्त रकम जेठ मसान्तसम्म आइपुग्दा एक खर्ब ७६ अर्ब ५० करोड ४२ लाख रुपैयाँले बढेको छ । 

यस अवधिमा सरकारको सरप्लस मौज्दात भने घटेर ५ अर्ब रुपैयाँमा झरेको छ । गत असार मसान्तसम्ममा २५ अर्ब रुपैयाँ बराबर रहेको सरकारी सरप्लस जेठ मसान्तसम्म२० अर्ब रुपैयाँले घटेको हो ।

राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म वित्तीय बजारमा ४१ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ भन्दा बढी नगद प्रवाह बढेको छ । यस अवधिमा नगद प्रवाह ६ खर्ब ६७ अर्ब ६३ करोड ३६ लाख ६६ हजार १६० रुपैयाँ पुगेको हो । गत असार मसान्तसम्म यस्तो प्रवाह ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख ७२ हजार ५३० रुपैयाँ रहेको थियो ।

त्यसैगरी राष्ट्रिय ढुकुटीमा नेपालको सम्पत्ति तीन खर्ब ७६ अर्ब २८ करोडरुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार गत असार महिनासम्ममा १५ खर्ब ८८ अर्ब १२ करोड ५६ लाख रुपैयाँ रहेको यस्तो सम्पति जेठ महिनासम्ममा आइपुग्दा बढेर १९ खर्ब ६४ अर्ब ४० करोड ५७ लाख पुगेको छ ।
 

Advertisment