काठमाडौं : पछिल्ला दुई महिनायता नेपाल आउने विदेशी पर्यटकको संख्या निरन्तर घट्दै गएको छ । पर्यटन बोर्डका अनुसार गत मार्च र अप्रिलमा पर्यटक आगमन मासिक एक लाख नाघेको थियो । तर, मे महिनादेखि भने पर्यटक आगमन घट्दै गएको हो ।
बोर्डका अनुसार सन् २०२४ को ६ महिनामा पौने ६ लाख बढी पर्यटक नेपाल भित्रिएका छन् । यस अवधिमा विभिन्न देशका ५ लाख ८३ हजार १६ विदेशी पर्यटक नेपाल आएका हुन् ।
एक महिना अर्थात जुनमा ७६ हजार ७३६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । उक्त संख्या सन् २०२३ को सोहि अवधिको तुलनामा ६.२१ प्रतिशत बढी हो भने सन् २०१९ को तुलनामा भने २.४७ प्रतिशतले बढी हो ।
गत वर्षको जुन महिनामा ७२ हजार २५० जना विदेशी पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार सन् २०२२ को जुनमा महिनामा ४६ हजार ९५७ जना, सन् २०२१ मा एक हजार १८७ जना, सन् २०२० मा १०२ जना र सन् २०१९ मा ७४ हजार ८८३ जना पर्यटक भित्रिएका थिए ।
सन् २०२४ को जनवरीमा ७९ हजार १००, फेब्रअरीमा ९७ हजार ४२६ मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६, मे मा ९० हजार २११ र जुनमा ७६ हजार ७३६ पर्यटक नेपाल आएका छन् ।
सन् २०२४ को जुन मा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् यस अवधिमा भारतबाट ३७ हजार ८३५ जना नेपाल आएका हुन् ।
त्यस्तै सोही अवधिमा चीनबाट ७ हजार ४९४ जना, अमेरिकी पर्यटक ८ हजार २८१ जना, बंगलादेशबाट ३ हजार ८५७ जना र युकेबाट एक हजार ९६९ जना पर्यटक नेपाल आएका छन् ।
त्यसैगरी अप्रिलमा भुटान एक हजार ६६, अष्ट्रेलियाबाट एक हजार ५८९, जापानबाट ९५३ जना, साउथ कोरियाबाट ८७५ जना र मलेसियाबाट एक हजार १४ जना विदेशी पर्यटक नेपाल आएको पर्यटन बोडले जनाएको छ ।