चितवन : भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने सात सय ७६ जना बालिकाको जीवन बीमा गरिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० बाट सुरु गरेको ‘छोरीसँग मेयर कार्यक्रम’अन्तर्गत दुई वर्षमा सो सङ्ख्यामा जन्मिएका बालिकाहरूको बीमा गरिएको हो ।
महानगर प्रमुख रेनु दाहाल दोस्रोपटक निर्वाचित भएपछिको पहिलो निर्णय यसलाई गरिएको थियो । महानगरको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका निर्देशक शान्ताकुमारी पौडेलका अनुसार गत आवमा तीन सय ८८ जना र यस आवमा तीन सय ८९ जना बालिकाको बीमा गरिएको छ ।
भरतपुर महानगरपालिकामा स्थायी बसोबास भएर सरकारी स्वास्थ्य संस्थामा जन्मिएका बालिकाहरूका लागि यो कार्यक्रम लागू गरिएको हो । बालिकाको जन्म भएपछि महानगरले बीमा बराबरको रकम ५० हजार बाल उमङ्ग बीमाका लागि प्रदान गर्ने छ ।
पन्ध्रवर्षे बीमा कार्यक्रम भएकाले हरेक वर्ष नवीकरण महानगरले गर्नेछ । पन्ध्र वर्षपछि ती बालिकाले एक लाख पाउने पौडेलले बताइन । महानगरपालिकाले यस वर्ष बीमा नवीकरण र नयाँ बीमा गरी २५ लाख ७७ हजार आठ सय ६२ बीमा कम्पनीलाई बुझाएको छ ।
महानगरपालिका प्रमुख दाहालले सरकारी अस्पतालमा प्रसूति गर्न आउनेको सङ्ख्या बढाउन र छोरा र छोरीमा हुने विभेद अन्त्यका लागि महानगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको बताइन । आफू पहिलोपटक प्रमुख हुँदा भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलाहरूको बहिरङ्ग टिकट निःशुल्क गरेको जनाउँदै उहाँले दोस्रो कार्यकाल प्रमुख भएर आएसँगै छोरी बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिइन। उनले भनिन, “छोरीहरू उच्च शिक्षा पढ्ने समयमा यो बीमाको रकम पाउने भएकाले कोही पनि छोरी शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर नै यो कार्यक्रम ल्याएका हौँ ।”
Advertisment