काठमाडौं : २०७८ भदौ २ गते ‘अल टाइम हाई’ शेयर बजार परिसूचक ३१९८.६० बिन्दुमा पुगेको थियो । जतिबेला एकैदिन २२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेपालको सेयर बजारको हालसम्मकै उत्कर्षको समयमा अर्थमन्त्रीमा नेकपा एमालेका नेता विष्णुप्रसाद पौडेल रहेका थिए । त्यसयता जतिपटक पौडेलले अर्थमन्त्रालयको नेतृत्व सम्हाले त्यतिनै पटक सेयर बजारले उनलाई पत्याएको अवस्था छ । आज फेरि उनै नेता पौडेल अर्थमन्त्रालयमा फर्किने चर्चाकाबीच सेयर बजारमा उत्साह छाएको छ ।
सरकार फेरबदलको चर्चाबीच मंगलबार सेयर बजार परिसूचक नेप्से ४७ अंकमाथिले बढ्दै २१ सय विन्दुमा उक्लिएको छ । तीब्र उतारचढावका बीच यसदिन बजार खुलेको केही मिनेटमा नै नेप्से सूचक ५ प्रतिशतमाथिले बढेर २१ सय ३५ अंकमाथि पुगेको थियो । तथापि, अन्तिम समयमा बजार फर्किएर २१ सयको विन्दुमा ओर्लियो ।
एकाएक सेयर बजारमा उत्साह आउनुको पछाडी भने अरु केहीँ कारण नभएर उहीँ अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेलको चर्चा नै हो ।
पुँजी बजार र विष्णुप्रसाद कनेक्सन
नेपाली राजनीति वृत्तमा सोमबार एकाएक नयाँ तरंग आयो । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसँग सत्ता साझेदारी तोड्दै नेकपा एमालेले नेपाली काँग्रेससँग मिलेर सरकार बनाउने निर्णय गर्यो ।
एमाले र काँग्रेसबीचको सहमति अनुसार पहिलो चरणमा सरकारको नेतृत्व एमालेका नेता केपी शार्मा ओलीले गर्ने र दोस्रो चरणमा शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमति भएको बुझिएको छ ।
प्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ९ वटा मन्त्रालय र काँग्रेसले गृहमन्त्रालयसहित १० वटा मन्त्रालय लिने सहमति भएको सूचना बाहिरिएको छ । यस्तै प्रादेशिक सरकारको नेतृत्व पनि भागबण्डाका आधारमा एमाले र काँग्रेसले लिने सहमति गरेका छन् ।
यहीँ सहमतिका आधारमा यता केन्द्र सरकारको अर्थमन्त्री विष्णुप्रसाद पौडेल हुने भन्ने चर्चा चलेसँगै धितोपत्र बजारका लगानीकर्ताहरु उत्साहित बनेका छन् । सेयर बजारलाई सकारात्मक रुपमा लिने र लगानी (कारोबार) का लागि हौसला दिने भएकैले लगानीकर्ताहरु पौडेललाई रुचाउँछन् ।
त्यसो त कम्युनिष्ट शासकलाई पुँजी बजारले त्यति मन पराउँदैनन् । तर पनि पुँजी बजारले पत्याउने र विश्वास गर्ने कम्युनिष्ट भाग्यमानि पात्र पौडेल बनेका छन् ।
तर, यता वर्तमान सरकार कायमै रहेका बेला लगानीकर्ताले सेयर बजारले नयाँ अर्थमन्त्रीलाई स्वागत गरेको बताएका छन् ।
‘अर्थमन्त्री विष्णु पौडेल बन्ने भएपछि बजारमा उच्च वृद्धि भएको छ । उहाँको राम्रो कर्मको फल हो । उहाँको कार्यकालमा राम्रो काम गरिदिँदा त्यसकै असर अहिले बजारमा देखिएको हो । अर्थमन्त्री पौडेल बन्ने हल्लामै बजारमा सकारात्मक सर्किट लागेको छ । बजारले नयाँ अर्थमन्त्रीलाई स्वागत गरेको छ’ पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले भनिन् ।
थप बजारले कस्तो बाटो तय गर्छ सो भने अब सरकार, अर्थमन्त्री र अर्थमन्त्रीले सेयर बजारप्रति लिने नीतिले निर्धारण गर्ने उनले बताइन् ।
यस्तै पुँजी बजार विश्लेषक छोटेलाल रौनियार पनि फेरिएको नयाँ सत्ता समिकरणले पुँजी बजारलाई राहत मिल्ले बताउँछन् । ‘नयाँ सत्ता समिकरण भएसँगै एमालेका विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्ला आएको छ । प्रधानमन्त्री र अर्थमन्त्री दुवै एमालेको बन्ने भएपछि मौद्रि नीति पनि राम्रो आउँला । उनको पालामा नेप्से परिसूचक ३२ सयमा पुगेको थियो । काँग्रेस र एमालेको संयुक्त सरकार बन्यो भने स्थायित्व हुन्छ भन्ने विश्वासले बजार बढेको छ’ रौनियारले भने ।
कुनै समय ३२ सयको विन्दुमा पुगेको सेयर बजार घटेर १८ सय सम्म झरेको थियो । त्यसयता २ हजारको पेरिफेरिमा नै घुमिरहेको बजार एकाएक सत्ता समीकरण फेरिने आशमा २१ सयको विन्दुमा उक्लिएको छ । पुँजी बजार अब थप बढ्नेमा लगानीकर्ताहरु आशावादी रहेको रौनियारले बताए ।
‘कांग्रेस–एमाले पूँजी बजारलाई नजिकबाट हेरेको र बुझेका पार्टीहरु हुन् । लगानीकर्ताले पौडेललाई विश्वास पनि गर्छन् । उनको पालामा खासै नीतिगत सुधार नभए पनि योग मिलेको हो । उहाँसँग लगानीकर्ताको ग्रह मिलेर पुँजी बजार बढेको जस्तो लाग्छ’ उनले भने ।
सोही अवसरमा रौनियारले मौद्रिक नीति मार्फत हाल मार्जिन प्रकृतिको सेयर धितोकर्जामा लगाएको २० करोडको सीमा हटाउनु पर्ने धारणा समेत राखे । साथै मार्जिन लेण्डिङको जोखिम भारलाई पनि शतप्रतिशतमा झानुपर्ने बताएका छन् ।
Sponsored Advertisment