काठमाडौं : रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले असार २७ गतेदेखि पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गर्न लागेको हो। कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा रहेको छ।
बुक बिल्डिङ्ग निर्देशिका, २०७७ बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । बुक बिल्डिङ्ग निर्देशिकाको व्यबस्था बमोजिम संस्थागत लगानीकर्ताको मूल्यमा सर्वसाधारणलाई १० प्रतिशत छुट दिने व्यबस्था बमोजिम प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो ।
लगानीकर्ताले साउन १० गतेसम्म न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
केयर रेटिङ नेपालले कम्पनीलाई समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता केयर एनपी सिंगल ए माइनस इस्युअर रेटिङ प्रदान गरेको छ।
Advertisment