काठमाडौं : आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ११ जना सञ्चालक विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट पक्राउ पुर्जी जारी भएपछि संस्थाका अध्यक्ष कृष्णबहादुर उप्रेती (के.बी) प्रहरी वृत्त बालाजुबाटै बुधबार बेलुकी पक्राउ परेका छन् ।
सहकारी संस्थाका बचतकर्ता र अध्यक्ष उप्रेतीबीच बालाजु चौकीमा छलफल भइरहेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । सहकारीका बचतकर्ताले बुधबार बिहान उप्रेतीको घर घेराउ गरेका थिए । त्यसपछि बालाजु प्रहरीले दिउँसो सहकारीका बचतकर्ता र उप्रेतीबीच सहमतिका लागि छलफल गराएको थियो । छलफलकै बीचमा प्रहरी वृत्त महाराजगञ्जबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई बालाजु वृतबाटै नियन्त्रणमा लिएको हो ।
अध्यक्ष उप्रेतीसँगै अन्य ११ जना सञ्चालकहरु विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध बचतकर्ताको करिब १७ करोड रुपैयाँ फिर्ता नगरेको आरोपसहित जाहेरी परेको थियाे । संस्थाका अन्य सञ्चालकहरु भने फरार छन् ।
सहकारीमा तरलता अभाव हुन थालेपछि २०८० असारमा हाम्रो सगरमाथा, नागरिक कल्याण, आइडियल यमुना, तपाईं हाम्रो र घेदुङ बहुउद्देश्यीय सहकारी संस्थाहरू एकआपसमा मर्ज भई आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नामाकरण भएको थियो । मर्जरलगत्तै संस्थाहरूबीच हिसाब नमिलेपछि एकीकृत कारोबार भने अझै शुरू हुन सकेको छैन ।
यी संस्थाहरुबीच विभाजनका लागि सहकारी विभागमा समेत निवेदन परेको छ । विभागले विभाजन नगरेपछि संस्थाका सञ्चालकहरु अदालतसम्म पुगेका थिए । अदालतमा मुद्दा विचाराधिन छ ।
Advertisment