काठमाडौं : बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको ४०० किलो भोल्ट सवस्टेसन निर्माण हुने भएको छ । बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न बाघमारा सवस्टेसनसम्मको ४०० के.भी. विद्युत प्रसारण लाइन निर्माण गर्न लागेको हो ।
अछामको ढकारी गाउँपालिका वडा नं. ६ मा प्रस्तावित वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको स्विचयाईदेखि सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ४ मा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडबाट प्रस्तावित बाघमारा सबस्टेसनसम्म ५ किमि लामो विद्युत प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।
विद्युत ऐन, २०४९ को दफा ४ को व्यवस्था अनुसार विद्युत नियमावली, २०५० को नियम १३ मा उल्लेखित विवरण खुलाई विद्युत प्रसारण लाइनको अनुमतिपत्रका लागि प्रवर्द्धक कम्पनी बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले दरखास्त पेस गरेको थियो ।
विद्युत विकास विभागले प्रस्तावित प्रसारण लाइन निर्माण तथा सञ्चालन प्रतिकूल असर पर्ने भएमा ३५ दिनभित्र लिखित राय प्रतिक्रिया दिन समेत अनुरोध गरेको छ ।
उक्त प्रसारण लाइनको भोल्टेज ४ लाख भोल्ट, डबल सर्किट रहने र ४३९ मेगावाटसम्मको विद्युत शक्ति प्रसारण गर्न सकिनेछ । यो प्रसारण लाइनको लम्बाई ५ कि.मि हुनेछ जसमा ११ वटा टावरहरू निर्माण गरिने छन् । टावरको औषत उचाई ५० मी. रहने तथा टावरहरू बीचको दुरी २४१.२४ मी. देखि १३५१.६१ मीटर सम्म हुनेछ ।
आयोजना निर्माणका लागि कूल २६.५३ हेक्टर जमिन आवश्यक पर्नेछ जसमध्ये ११ वटा टावरहरूका लागि स्थायी रूपमा करिब १.१ हेक्टर जग्गा आवश्यक पर्दछ ।
यो प्रसारण लाइनको निर्माण कार्य २४ महिनाभित्र गरिने लक्ष्य रहेको छ । प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, वायु प्रदूषण आदिद्वारा बातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने गरी निर्माण गरिनेछ ।
प्रस्तावित बेतन कर्णाली जलविद्युत आयोजना आयोजना सुर्खेत र अछाममा भएर बग्ने कर्णाली नदीमा निर्माण हुनेछ । यो पिकिङ रन अफ दि रिभर (अर्ध–जलाशययुक्त) प्रकृतिको हुनेछ ।
कर्मचारी सञ्चयकोषले प्रवर्द्धन गर्न लागेको आयोजनाको लागत ८८ अर्ब १९ करोड रुपैयाँको अनुमान गरिएको छ ।
Advertisment