काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति आइतबार गगर्ने भएक छन् । उनले नयाँ सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि भोलि असार ३० अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए।
सो आह्वानअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका हुन्।
राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नेछन् । त्यस्तै आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण हुने बताइएको छ ।
Advertisment