Below Menu

सहकारीका लागि दुई छुट्टाछुट्टै ऐन ल्याउने तयारी, सरोकारवाला र विज्ञसँग छलफल

सहकारीका लागि दुई छुट्टाछुट्टै ऐन ल्याउने तयारी, सरोकारवाला र विज्ञसँग छलफल

काठमाडौं : सहकारी क्षेत्रलाई थप सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यसहित सरकारले दुईवटा छुट्टाछुट्टै ऐन ल्याउने तयारी थालेको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था र अन्य प्रकृतिका सहकारीका लागि अलग-अलग कानुनी व्यवस्था गर्न लागिएको हो ।

Sponsored Advertisement

नयाँ कानुन निर्माणका लागि सरकारले सहकारी अभियानदेखि नियामक निकाय, सरकारी कार्यालय र विषयविज्ञसम्मसँग सुझाव संकलन थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार आयोजना गरेको सहकारी कानुन सुधारसम्बन्धी छलफलमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूलाई प्रस्तावित कानुनमा समेट्नुपर्ने विषयबारे सुझाव दिन आग्रह गरेको हो ।

छलफलमा राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कूनलगायत केन्द्रीय सहकारी संघसंस्थाका प्रतिनिधि, प्रदेश तथा स्थानीय तहका सहकारी रजिष्ट्रार कार्यालय, नेपाल राष्ट्र बैंक, कानुन तथा अर्थ मन्त्रालय, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय र विज्ञहरूको सहभागिता थियो ।

मन्त्रालयका सहसचिव डिलाराम पन्थीले प्रस्तुत गरेको कार्यपत्रमा सहकारीको प्रकृति र कारोबारका आधारमा फरक कानुनी व्यवस्था आवश्यक रहेको औंल्याइएको थियो । उनका अनुसार सदस्यको बचत सुरक्षालाई प्राथमिकतामा राख्दै वित्तीय अनुशासन, पारदर्शिता र प्रभावकारी नियमन सुनिश्चित गर्न दुई अलग ऐनको अवधारणा अघि सारिएको हो ।

सरकारले आगामी अधिवेशनमा ऐनको मस्यौदा पेस गर्ने तयारी गरेको छ । सहकारीलाई उद्देश्यअनुसार सञ्चालन गराउने र विद्यमान विकृति तथा वित्तीय विचलन नियन्त्रण गर्ने गरी कानुनी व्यवस्था गर्न लागिएको पन्थीले बताए ।

प्रस्तावित कानुनमा बचत तथा ऋण सहकारी र वित्तीय सहकारीसम्बन्धी नियमन, अनिवार्य रूपमा समेट्नुपर्ने कानुनी प्रावधान, सहकारी क्षेत्रका विद्यमान समस्या समाधानका उपाय, ठूला बचतकर्ताको बचत फिर्ता तथा ऋण असुलीलाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापनको ढाँचा, कसुरदारको सम्पत्ति लिलाम तथा बिक्री प्रक्रिया, सहकारी रजिष्ट्रार कार्यालय र सहकारी नियमन प्राधिकरणको कार्ययोजना तथा नियमन प्रणालीलाई प्रभावकारी बनाउने विषयमा समेत सुझाव माग गरिएको छ ।

कार्यक्रममा सहकारीमन्त्री प्रतिभा रावलले सरकारको पहिलो प्राथमिकता पीडित बचतकर्ताको रकम फिर्ता गर्नु रहेको बताइन् । उनले सीमित व्यक्ति वा समूहको स्वार्थअनुकूल नभई समग्र सहकारी सदस्यको हित हुने गरी कानुन निर्माणमा सुझाव दिन सरोकारवालालाई आग्रह गरिन् ।

मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्रलाई थप बिग्रन नदिन सरकार गम्भीर रहेको बताए । उनले विभिन्न क्षेत्रबाट प्राप्त सुझावलाई समेटेर आवश्यकताअनुसार थप छलफल गर्दै ऐनको मस्यौदा तयार गरिने जानकारी दिए । नयाँ कानुनमार्फत सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो ।

सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार बाबुराम गौतमले बचत तथा ऋणको मुख्य कारोबार गर्ने र अन्य प्रकृतिका सहकारीका लागि छुट्टाछुट्टै ऐन ल्याउने तयारी सकारात्मक रहेको बताए । सहकारीमा देखिएको वित्तीय विचलन न्यूनीकरण गर्दै संस्थाहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नयाँ कानुनी व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो ।

छलफलमा सहभागी विज्ञहरूले भने कानुन निर्माणसँगै स्पष्ट सहकारी नीति र त्यसको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिएका छन् । स्पष्ट नीतिगत आधारबिना कानुन मात्रै ल्याउँदा अपेक्षित परिणाम हासिल नहुने उनीहरूको तर्क छ । नयाँ कानुन बनाएर मात्र सहकारी क्षेत्रका समस्या समाधान नहुने भन्दै त्यसको कार्यान्वयन, नियमन र अनुगमन प्रणालीलाई पनि उत्तिकै प्रभावकारी बनाउनुपर्ने सुझाव उनीहरूले दिएका छन् ।

थप समाचार