काठमाडौं : करिब दुई वर्ष अघि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘क्यास लेस इकोनोमी’ को अवधारणा अनुसार डिजिटल कारोबारलाई प्रश्रय दिएका थिए ।
अधिकारीको पहलमा तरकारी बजारमा क्यूआर कोड मार्फतको भुक्तानीको सुरुवात भएको थियो । प्रविधिको प्रयोगसँगै पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा सञ्चालन भएका तरकारी बजार, मन्दिर तथा अटोरिक्सा लगायत धेरै स्थानमा क्विक रेपोन्स (क्यूआर) कोड जडान भइसकेका छन् ।
तरकारी बजारबाट सुरु भएको डिजिलट भुक्तानी अवधारण अनुसार अधिकांश सार्वजनिक स्थानमा विभिन्न सेवा प्रदायक कम्पनीले क्यूआर कोड जडानलाई तीव्रता दिँदै आएका छन् ।
पछिल्लो केही महिनादेखि उकालो ग्राफमा रहेको विद्युतीय भुक्तानी बैशाखमा भने ओरालो लागेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ महिनाको तथ्यांक अनसार अधिकांस भुक्तानी र कारोबार संख्यामा कमि देखिएको छ ।
केही समयसम्म बढ्दो ग्राफमा रहेको डिजिटल कारोबार रकम खुम्चिदा गर्भनरले सञ्चालन गरेको अभियानले निरन्तरता नपाएको देखिएको छ ।
सवा २४ अर्बले घट्यो कारोबार
चालु आर्थिक वर्षको जेठ महिनामा डिजिटल भुक्तानी मार्फत हुने कारोबार घटेको । गत बैशाखको तुलनामा जेठमा यस्तो कारोबार र भुक्तानी सवा २४ अर्बले घटेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको बैशाखमा ५४ खर्ब ३८ अर्ब ८९ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । जेठमा भने उक्त कारोबार २४ अर्ब १६ करोड रुपैयाँले घटेर ५४ खर्ब १४ अर्ब ७२ करोड रुपैयाँमा झरेको छ ।
उक्त कारोबार कनेट आइपिएस, इ– कर्मश, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, क्यूआर पेमेन्ट, पोन्ट अफ सेल्स (पिएसओ) का लगायतका प्रयोगकर्ताबाट भएको हो ।
कुनबाट कति कारोबार ?
राष्ट्र बैंकका अनुसार चालु आवको जेठ महिनामा कनेक्टट आईपीएस मार्फत ५ खर्ब ६२ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जबकी बैशाखमा ५ खर्ब २२ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
त्यस्तै, डेबिट कार्डमार्फत जेठमा ९४ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ थियो भने क्रेडिट कार्डमार्फत दुई अर्ब तीन करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । इन्टरनेट बैंकिङ मार्फत १६ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, गत बैशाखमा मोबाइल बैंकिङ मार्फत तीन खर्ब २० अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा जेठमा तीन खर्ब ५१ अर्ब २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
राष्ट्र बैंकका अनुसार जेठमा क्युआर मार्फत ५३ अर्ब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जबकी बैशाखमा क्युआर मार्फत ५२ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
त्यस्तै यस अवधिमा वालेट मार्फत २९ अर्ब ३५ करोड, पोइन्ट अफ सेल्स पीओएस मार्फत पाँच अर्ब ६३ करोड र इ–कमर्सबाट ८७ करोड चार लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
अन्य कारोबार
यस बाहेक आरटीजीएसबाट ३५ खर्ब ६१ अर्ब १५ करोड, एटीएम– क्यास वीथ ड्र– ९१ अर्ब रुपैयाँ, इलेक्ट्रोनिक चेक क्लियरिङ्ग (ईसीसी) ५ खर्ब २४ अर्ब ९ करोड रुपैयाँ, प्रिपेड कार्ड– ७० करोड र ब्रान्चलेस बैंकिङ– १ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
थपिए साढे ५ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता
राष्ट्र बैंकका अनुसार एक महिनामै साढे ५ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् । चालु आवको जेठसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४३ लाख ६३ हजार ७७६ पुगेको छ । गत बैशाखमा यस्तो संख्या २ करोड ३७ लाख ९७ हजार ६८० रहेको थियो ।
यसैगरी जेठमा इन्टरनेट बैंकिङ प्रयोगकताहरु भने ६ हजार थपिएका छन् । गत बैशाखमा १९ लाख ३८ हजार ८८८ रहेको यो संख्या बढेर १९ लाख ४५ हजार ७३६ मा पुगेको छ ।
एक महिनामै मोबाइल वाटेट प्रयोगकर्ताहरुको संख्या ४ लाख २३ हजार ११८ ले बढेर दुई करोड ३० लाख ३८ हजार २४० पुगेको छ । जबकी गत बैशाखमा अवधिमा वालेट प्रयोगकर्ताहरु २ करोड २६ लाख १५ हजार १२२ रहेका थिए ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा डेबिट कार्ड प्रयोगकर्ता एक करोड २९ लाख २७ हजार ८५०, क्रेडिट कार्ड प्रयोगकर्ता दुई लाख ८७ हजार ५२२ कनेट आईपिएस प्रयोगकर्ता १२ लाख ६२ हजार ७९७ पुगेका छन् ।
Advertisment