काठमाडौं : नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै नोटको डिजाइनसहित छपाई र ढुवानीसहितको जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको हो ।
राष्ट्र बैंकले गत २९ अक्टोबर, २०२१ मा जारी बोलकबोलमा सहभागी भई प्रारम्भिक छनोटमा परेका योग्य कम्पनी तथा फर्महरूलाई पुनः दरखास्त आह्वान गरेको हो ।
राष्ट्र बैंकका अनुसार योग्य आवेदनले एकल चरण दुई खाममा छुट्टाछुट्टै छापसहितको दुईवटा आवेदन दिनुपर्नेछ । योग्य छनोटमा परेका आवेदकले ४ सेप्टेम्बर, २०२४ दिनको १२ बजेसम्म (४६ दिन) आवेदन दिन सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार आवेदक कम्पनीले धितोको रूपमा २ करोड ७५ लाख रुपैयाँ राख्नुपर्नेछ । छनोटमा परेका र टेन्डर पाएका कम्पनीले स्वीकृतिको अधिकतम १२० दिनभित्र नोट छपाई गई ढुवानी समेत गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
Advertisment